अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी प्रदेशमा माओवादी र एमाले सहकार्य कायमै रहने

कोसी प्रदेशमा माओवादी र एमाले सहकार्य कायमै रहने


काठमाडौं – केन्द्रमा नयाँ समीकरणसँगै प्रदेश सरकारमा उथलपुथल देखिए पनि कोसी प्रदेशमा भने एमाले र माओवादीबीचको सहकार्य कायमै रहने देखिएको छ। दुईवटा प्रदेशमा मुख्यमन्त्री लिइसकेको र केहीमा साढे दुई वर्षपछि आलोपालो पाउने रोलक्रममै बसेको माओवादीले कोसीमा भने एमालेसँग मिलेरै सरकार चलाउन खोजेको छ।

माओवादी नेताहरु अंक गणितका कारण कोसी प्रदेशमा समीकरण परिवर्तन गर्न अप्ठेरो भएको बताउँछन्। ९३ सदस्यीय कोसी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले छ। एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक मत छ। यहाँ बहुमतको सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। नयाँ समीकरणअनुसार सरकार बनाउन राप्रपाले साथ दिनुपर्ने हुन्छ। नभए माओवादीले सभामुख छाड्नुपर्ने हुन्छ।

दुवै पक्षसँग स्पष्ट बहुमत नभएकोले तत्काल माओवादी केन्द्रले सरकारबाट हात झिक्न नमानेको हो ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको माओवादी कोसी सरकारबाट भने नहट्ने भएको छ । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टीले सरकार तत्काल नछाड्ने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सरकार आलोपालो चल्ने घोषणा गरिसक्नुभएको छ । उहाँकै निर्देशन मानेर लुम्बिनी र गण्डकी प्रदेशबाट माओवादी मन्त्रीहरू बाहिरिसकेका छन् । तर कोसीमा भने माओवादीहरु सरकार नछाड्ने मनस्थितिमा छन्।

प्रचण्डलाई  कांग्रेस र एकीकृत समाजवादीका नेताहरूले अन्य प्रदेशमा १० दलीय गठबन्धनअनुसार चल्ने तर कोसीमा नचले ठीक नहुने भन्दै चेतावनी दिइसकेका छन् । कोसीकै कारण केन्द्रमा पनि नेताहरूबीच सम्बन्ध बिग्रिने सम्भावना छ । कांग्रेसले  माओवादीको डबल स्ट्यान्डर्ड भूमिका भो भन्दै आपत्ति जनाएइरहेको छ।