अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई 

भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई 


कञ्चनपुर-भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भन्नुभयो, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।” 

सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ ।

“अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ”, पन्तले भन्नुभयो, “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिनुभयो । प्राथमिकताका आधारमा खोप लगाइने उहाँले बताउनुभयो । 

“अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।” 

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन् । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् । 

त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ”, पन्तले भन्नुभयो ।