काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन फिर्ता, सच्याउने तथा दाबी–विरोधका लागि तोकिएको समयावधि दुई घण्टा थप गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि निर्धारण गरिएको समयलाई बढाएर दिउँसो २ बजेसम्म कायम गरिएको जनाएको हो।
निर्वाचन समितिका अनुसार प्रकाशित उम्मेदवार नामावलीमा रहेका त्रुटि सच्याउन, उम्मेदवारी मनोनयन फिर्ता लिन, नामावलीमा छुटेका विषयमा दाबी गर्न वा उम्मेदवारीसम्बन्धी विरोध जनाउन इच्छुक महाधिवेशन प्रतिनिधिहरूले दिउँसो २ बजेसम्म समितिसँग सम्पर्क गर्न सक्नेछन्।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्तापछि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला निर्वाचन समितिले समय थप गर्ने निर्णय गरेको हो। यससँगै उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन र निर्वाचनका आगामी कार्यक्रमहरू पनि संशोधित कार्यतालिका अनुसार अगाडि बढ्ने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा प्रतिस्पर्धा हुने भएकाले उम्मेदवारी फिर्ता र दाबी–विरोधको चरणलाई महत्त्वपूर्ण मानिएको छ। निर्वाचन समितिले सबै महाधिवेशन प्रतिनिधिलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।



प्रतिक्रिया