अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा बजेट आउँदै, आज प्रदेशसभामा प्रस्तुत गरिने

सुदूरपश्चिममा बजेट आउँदै, आज प्रदेशसभामा प्रस्तुत गरिने


धनगढी-लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

नयाँ आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि प्रदेशमा बजेट पारित हुन नसक्दा सरकार करिब तीन महिनादेखि ‘बजेट होलिडे’को अवस्थामा रहँदै आएको थियो। बजेट अभावका कारण प्रदेश सरकारका विकास निर्माण तथा आर्थिक गतिविधिसमेत प्रभावित बनेका थिए।

यसअघि गत असार १ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट पेस गरेको थियो। तर, सत्तारूढ गठबन्धनभित्रै बजेटप्रति असहमति चर्किएपछि उक्त बजेट पारित हुन सकेन।

राजनीतिक समीकरण परिवर्तन भई एमालेको समर्थनमा साउन २९ गते खगराज भट्ट नेतृत्वमा नयाँ प्रदेश सरकार गठन भएको थियो।

सरकार परिवर्तनपछि रोकिएको बजेट प्रक्रिया पुनः अघि बढाइएको हो। नयाँ सरकारले बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेको छ।

आज बजेट पेस भएसँगै प्रदेशको आर्थिक गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहका कामले गति लिने अपेक्षा गरिएको छ। साथै, लामो समयदेखि अन्योलमा रहेका विकास कार्यक्रम र बजेट कार्यान्वयन प्रक्रियाले समेत स्पष्ट दिशा पाउने विश्वास गरिएको छ।