अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु: ऊर्जामन्त्री बस्नेत

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु: ऊर्जामन्त्री बस्नेत


काठमाडौं – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ।

सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिनुभयो।

ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ ।”

मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याउनुभयो । “मानिसमा आशावाद जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ”, उहाँले भन्नुभयो।

ऊर्जामन्त्रीको पहिलो निर्णय

ऊर्जामन्त्री बस्नेतले पदबहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन ९डब्लुएमओ० बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लुएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सि।डि।हाइड्रोलोजी सुनिल पोखरेललाई नेशनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले अनुभवी र निर्भिक मन्त्री पाएको भन्दै मन्त्रीको स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि बढाउने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतको राजनीतिक यात्रा

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाइसक्नुभएको छ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा जाजरकोट जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा मन्त्री बस्नेत निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २०२७ मा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१, कालेगाउँमा भएको थियो ।

तीन दशकदेखि राजनीतिमा आबद्ध मन्त्री बस्नेतको राजनीतिक यात्रा भने विसं २०४१ मा अनेरास्ववियुबाट भएको थियो । उहाँले अनेरास्ववियुको विद्यालय एकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभयो ।

विसं २०४७ मा नेकपा (मशाल) को सदस्यता जिल्ला समन्वय समिति सदस्य, क्षेत्रीय ब्युरो सदस्य हुँदै नेकपा (एकता केन्द्र) र विसं २०५५ मा माओवादी केन्द्रीय सदस्य बन्नुभयो । उहाँ पार्टीभित्र पोलिटब्युरो सदस्य, एमाओवादी स्थायी समिति सदस्य हुँदै विसं २०७५ मा नेकपा एमाले को स्थायी समिति सदस्य बन्नुभयो । उहाँले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताउनुभएको थियो।

पहिलो पटक विसं २०७० को संविधानसभा सदस्यका रूपमा उहाँको संसदीय यात्रा सुरु भएको थियो । उहाँ दोस्रो पटक विसं २०७४ को निर्वाचनमा जाजरकोट-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

Skip This