अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा बर्सेनि चार लाखका झण्डा

बागलुङमा बर्सेनि चार लाखका झण्डा


बागलुङ-बागलुङ नगरपालिकाले झण्डा पार्कमा राखिएका विभिन्न देशका झण्डा फेर्न बर्सेनि करिब चार लाख रुपैयाँ खर्च गर्दै आएको छ। वर्षा र चर्को घामका कारण झण्डाको रङ फिक्का भएपछि नयाँ झण्डा राख्नुपर्ने अवस्था आउने गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार पार्कमा राखिएका १९५ देशका झण्डामध्ये एउटा झण्डाको मूल्य भ्याटबाहेक एक हजार ८ सय रुपैयाँ पर्छ। सोही आधारमा झण्डा प्रतिस्थापन गर्दा वार्षिक रूपमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको छ।

बागलुङ बजारस्थित तत्कालीन वीरेन्द्र–ऐश्वर्य पार्कलाई नगरपालिकाले तीन वर्षअघि ‘झण्डा पार्क’का रूपमा विकास गरेको थियो। पार्कमा विश्वका १९५ देशका झण्डा राखिएका छन्।

नगरपालिकाले हालसम्म तीनपटक झण्डा परिवर्तन गरिसकेको जनाएको छ। घाम, पानी तथा मौसमको प्रभावका कारण झण्डाको रङ उड्ने र जीर्ण बन्ने भएकाले समय–समयमा नयाँ झण्डा राख्नुपर्ने अवस्था रहेको बताइएको छ।

झण्डा पार्क निर्माणका क्रममा भने नगरपालिकाको आलोचना भएको थियो। पार्कभित्र रहेका रुखका हाँगा काटेर कंक्रिटमा गाडिएका फलामे डण्डीमा विभिन्न देशका झण्डा राखिएको भन्दै स्थानीयस्तरमा विरोधसमेत भएको थियो।

आलोचनाका बाबजुद नगरपालिकाले पार्कलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको जनाएको छ।