अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेतेदेखि कोरलासम्म थन्किए पाँच सय बढी कन्टेनर

लेतेदेखि कोरलासम्म थन्किए पाँच सय बढी कन्टेनर


जोमसोम-मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सय कन्टेनर तथा सयौँ विद्युतीय सवारीसाधन सडकमा रोकिँदा चीनबाट आयात गरिएका मालवस्तु गन्तव्यमा पुग्न सकेका छैनन्। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि एक सातादेखि ती सवारीसाधन विभिन्न स्थानमा अलपत्र परेका हुन्।

भारी वर्षाले म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायत क्षेत्रमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बेनी–जोमसोम सडकखण्ड बन्द रहेको छ। सडक मर्मतको काम जारी रहे पनि पूर्ण सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने कालीगण्डकी करिडोर सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्।

सडक अवरुद्ध भएकै कारण जोमसोम बसपार्क क्षेत्रमा मात्रै ७० भन्दा बढी कन्टेनर र १०० भन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका छन्। यद्यपि कालीगण्डकी करिडोर आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि कोरलानाकाबाट केही मालवस्तुवाहक कन्टेनर भने जोमसोमसम्म ल्याइएको छ।

यसअघि बाढीपहिरोका कारण नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन सकेको थिएन। म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोलमा क्षति पुग्दा मुस्ताङमा केन्द्रीय ३३ केभी प्रसारण लाइन तथा इन्टरनेट सेवा एक सातादेखि अवरुद्ध रहँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित भएको थियो।

कोरलानाकामा रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार अहिले पनि करिब ३०० मालवाहक कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपासको प्रतीक्षामा छन्।

दसैँ–तिहार लक्षित सामग्री बोकेका कन्टेनर समयमै गन्तव्यमा पुग्न नसक्दा व्यापारी तथा उपभोक्ता दुवै प्रभावित भएका छन्। सामान ढुवानीमा भएको ढिलाइले बजारमा आपूर्ति प्रभावित हुनुका साथै आर्थिक गतिविधिसमेत सुस्ताएको व्यवसायीहरूको भनाइ छ।