झापा – झापाको दमकपछि एनआइसी एसिया बैंकले इटहरीमा पनि ऋणीको घरमा सुरक्षा गार्ड राखेको खुलासा भएको छ। समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ। धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो।
घरको गेटमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक दबाब दिने रणनीति बैंकले बनाएको बुझिएको छ।
बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री)को घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ। उनले बैंकबाट लिएको ऋणको सावाँ-व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ। सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताउनु भयो।
उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको छ, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’
विक्रमले आफूलाई घरमै ताला लगाएर नजरबन्द गरी प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खबर बजारमा फैलिएको बताउँदै लेख्नुहुन्छ, ‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डले राम्रो हेरदेख गरिदिएको छ ।’
उहाँले आफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण नसकेको भन्दै गुनासो गरेका छन् ।
विक्रम कोशी प्रदेशका चिरपरिचित मूर्तिकार समेत हुन् । कालकारश्रीले आफूले समयमा किस्ता तिर्न नसकेपछि बैंकका कर्मचारीले बोलाउने र फोटो खिच्ने गरेको बताउनु भयो । उहाँले भने किन फोटो खिचेको भन्दा हामीले ऋणीलाई भेटेको प्रमाण पठाउनु पर्छ भन्दै मानसिक यातना दिएको बताउनु भयो । उहाँले धेरैजना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको समेत बताउँदै लेख्नुभएको छ, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ।’
उहाँले बैंकलाई आफ्नो स्लोगन ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन् । ऋणी तिम्सिनाको जस्तै दमक नगरपालिका वडा नम्बर ५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि बैंकले नै सुरक्षा गार्ड खटाएको थियो । त्यहाँ बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि कँडेलको घरबाट गार्ड हटेका छन् ।






प्रतिक्रिया