काठमाडौं-नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्। पार्टीको वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्।
एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्य जानकारी दिए।
गत असोज ८ गते बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। भण्डारी पार्टीमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत भएकी हुन्।
त्यसैगरी, असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।
स्थायी कमिटी गठनपछि बस्न लागेको यो पहिलो बैठक हो। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। आगामी स्थानीय तह निर्वाचनको तयारी र निर्वाचन केन्द्रित पार्टी गतिविधिबारे पनि छलफल हुन सक्ने एमाले स्रोतले जनाएको छ।
नयाँ स्थायी कमिटीको पहिलो बैठकले पार्टीका आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई अघि बढाउने विषयमा समेत छलफल गर्ने बताइएको छ।



प्रतिक्रिया