अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय


काठमाडौं-तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेलगायत विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।

त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी, नेपाल प्रशासन सेवा, समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।

यसैगरी, नेपाल लेखापरीक्षण सेवा, समूहीकरणतर्फका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले २०८३ असोज २१ गते गरेको निर्णयअनुसार अध्यादेश सिफारिस, मानव अधिकार आयोगको सिफारिसमा पीडितलाई क्षतिपूर्ति, काठमाडौंमा पोर्चुगलको महावाणिज्यदूतावास स्थापनाका लागि सहमति तथा उच्च तहका तीन कर्मचारीको बढुवासहितका निर्णय गरेको हो।