अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि


काठमाडौँ-स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा थप हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा र परामर्शको अवसर उपलब्ध गराउनेछ।

कार्यविधिअनुसार यस्ता केन्द्र कम्तीमा हप्ताको पाँच दिन सञ्चालन गर्नुपर्नेछ। केन्द्रमा शौचालय, भान्सा, र्‍याम्प तथा आवतजावत गर्ने स्थानमा समाउने रेलिङलगायतका संरचना निर्माण गरी ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै महिनामा कम्तीमा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउनुपर्नेछ। आवश्यक औषधि उपलब्ध गराउन सहयोग गर्नुका साथै स्वास्थ्य तथा अन्य आवश्यक परामर्शको व्यवस्था पनि केन्द्रले गर्नुपर्नेछ।

केन्द्रमा स्वच्छ खाजा तथा तातो–चिसो पिउने पानीको प्रबन्ध गर्नुपर्नेछ। ज्येष्ठ नागरिकको इच्छाअनुसार तीन महिनामा कम्तीमा एकपटक धार्मिक, सांस्कृतिक वा पर्यटकीय स्थलको भ्रमणसमेत गराउने व्यवस्था कार्यविधिमा गरिएको छ।

कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी त्यसको अभिलेख राखिनेछ।

त्यस्तै, ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन वा बिक्री गर्न चाहेमा केन्द्रले आवश्यक सहजीकरण गर्नेछ। कुनै पनि कार्यक्रममा ज्येष्ठ नागरिकलाई इच्छाविपरीत सहभागी गराउन नपाइने व्यवस्था गरिएको छ। उनीहरूको गरिमा, सुरक्षा र स्वेच्छालाई प्राथमिकतामा राख्नुपर्ने कार्यविधिमा स्पष्ट पारिएको छ।

कार्यक्रम सङ्घीय सरकारबाट स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानमार्फत सञ्चालन हुनेछ। सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभएको रकम सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ।

स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र भौतिक तथा वित्तीय प्रगति, लाभान्वित ज्येष्ठ नागरिकको विवरण, उपलब्धि र चुनौती समेटिएको प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ।

कार्यविधिले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा, सामाजिक सहभागिता, मनोरञ्जन, सीप तथा अनुभव हस्तान्तरण र सक्रिय बुढ्यौलीलाई एकीकृत गर्ने बहुआयामिक सेवा केन्द्र सञ्चालनको आधार तयार गरेको छ।