काठमाडौं – पोखराको पर्यटनलाई थप प्रवद्र्धन गर्नका लागि सौर्य एयरलाइन्सले आगामी हप्ताबाट काठमाडौं पोखरा उडान थप्ने तयारी गरेको छ।
एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालका अनुसार रात्रीकालिन उडान सहित काठमाडौं पोखरा अब दैनिक उडानसंख्या थपिने जनाएको छ । हाल दैनिक दुईवटा उडान हुने गरेकोमा अब उडानको संख्या थपिने भएको हो । रात्री उडानका लागि अघिल्लो महिना नै परीक्षण उडान भइसकेकोले अन्य तयारीको काम भइरहेको एयरलाइन्सले जनाएको छ । हालसम्म रात्री उडान नभएको पोखरामा अप्रिलको १५ तारिख देखि रात्रीकालिन उडान सहित सौर्यले जहाज थप्ने भएपछि पोखराका पर्यटन व्यावसायी पनि खुशी भएका छन् ।
गत माघमा पोखराको आकासमा जहाज दुर्घटना भएपछि सुस्ताएको यहाँको उडान विस्तारै लयमा फर्किदै गएको स्थानीबासीहरु बताउछन् । पुषको मसान्तसम्म दैनिक ४८ वटासम्म उडान हुने पोखरा विमानस्थलमा विमानको संख्या घटेर २६ मा झरेको थियो । तर अहिले ७५ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना मानिसले बिर्सदै गएपछि हवाइ यात्रुको संख्या बढ्न थालेको छ । यात्रुहरुको चाप र पोखराको पर्यटनलाई केही टेवा दिनका लागि आफूहरुले पोखरामा जहाज थप्न लागेको खनालले जानकारी दिनुभयो ।
सौर्यले हाल काठमाडौ -विराटनगर दैनिक तीन,काठमाडौ -भद्रपुर दुई र काठमाडौं- पोखरा दुईवटा उडान सञ्चलन गरिरहेको छ ।






प्रतिक्रिया