अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा विकासको सुरुवात एमालेले गरेको हो: अध्यक्ष ओली

मधेसमा विकासको सुरुवात एमालेले गरेको हो: अध्यक्ष ओली


वीरगन्ज – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्व सरकारको पालामा तराई-मधेसमा विकासको सुरुवात गरेको बताउनु भएको छ।

आज वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले नेकपा एमाले नेतृत्व सरकारको साढे तीन वर्षकै कार्यकालमा तराई-मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गर्नुभयो ।

उहाँले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको बताउनु भयो ।

एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास ’ कार्यक्रम ल्याएर हजारौँ गरीब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेसका वीरगन्ज, जनकपुर जस्ता ठूला सहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि म प्रधानमन्त्री भएकै बेला निर्माण गरेको हो ।’  

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकार हुदाँ जनातामा यो देशमा सरकार छ भन्ने अनुभूति थियो। तर अहिले त जनताले सरकार नै नभएको अनुभूति गरिरहेका छन्।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओली राष्ट्रिय गान त्रुटिपूर्ण रहेकाले सच्याउन सरकारसँग आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपर्छ किनकि राष्ट्रिय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ। तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ। त्यो त्रुटिपूर्ण छ। त्यो धुन हटाएर सच्याउनुपर्छ। म सरकारसँग यो आग्रह गर्छु।’

अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताउनु भयो । उहाँले सामाजिक कुरीति, विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई सुझाव दिनु भयो । त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उहाँले बताउनु भयो ।