अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश आर्थिक संकटमा, प्रधानमन्त्रीबाट आश्वासन मात्रै: अध्यक्ष ओली

देश आर्थिक संकटमा, प्रधानमन्त्रीबाट आश्वासन मात्रै: अध्यक्ष ओली


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताउनु भएको हो।

आज काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उहाँले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो‘अहिलेको त खाली गरीबहरुका लागि मात्रै होइन कि हुनेहरुका लागि पनि तरलताको कमी, पैसा छैन, बैंकले दिन सक्दैन आदि खालका कुराहरुले देशलाई आर्थिक संकटतर्फ धकेल्दैछ। र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरुले भनिराखेका छन् । विभिन्न पत्रपत्रिकामा छापिइराखेको छ। सरकार मात्रै ढुक्क छ। अरु कोही ढुक्क छैन । तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ। भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन।’

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू तपाईहरुको बीचमा पनि आएर बोल्नु भयो होला। ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ। केही पनि छैन। भन्नु पर्दा पनि उहाँले केही बाँकि राख्नुहुन्न। तारा झारदेउन भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारि दिउला भन्नु हुन्छ,’ ओलीले भने, ‘कमिटमेन्टका लागि कुने खडेरी पर्दैन। कमिटमेन्टको वर्षा हुन्छ। तर तपाईहरुले अर्थतन्त्र देख्नु भएको छ। र, म तपाई सहकारी अभियन्ताहरुलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ।’