काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभएको छ।
संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको बताउनु भयो ।
आज काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘अब कसैलाई दोष दिएर पाईंदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाईन्न। अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ।’
महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो। शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो।
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।



प्रतिक्रिया