अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी


काठमाडौं – सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ।

विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । ‘हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन हुन्छ, अहिलेसम्म थप विवरण आएको छैन, विभागले सरोकारवाला निकायसँग समन्वय गरी खोजी गरिरहेको छ’, उहाँले भन्नुभयो।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा शनिबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् ।

खुम्बु पासाल्हामु गाउँपालिका-५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए । स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले ज्ञिप्तिमार्फत जनाएको छ।

पर्यटन विभागका अनुसार अहिले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार अनुभवी आइसफल डाक्टर ९हिमालमा बाटो बनाउने मानिस०ले सगरमाथाको दोस्रो शिविर (क्याम्प-टु) सम्मको बाटो बनाइसकेका छन्।

सगरमाथाको दोस्रो शिविरभन्दा माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा इमाजिन ट्रेक नेपालले पाएको छ । विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि २० आरोही समूहका ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोही धमाधम आइरहेकाले यो वर्षको वसन्त आरोहण उत्साहजनक हुने अनुमान गरिएको विभागका निर्देशक लुइटेलले बताउनुभयो ।