अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी फाउन्डेसनको जबज-२ श्रृङ्खला सम्पन्न

मदन भण्डारी फाउन्डेसनको जबज-२ श्रृङ्खला सम्पन्न


काठमाडौँ – मदन भण्डारी फाउन्डेसनले  ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ।

बुधवार मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा फाउन्डेसनले उक्त्त संवाद सम्पन्न गरेको हो। 

नेकपा (एमाले) का महासचिव सचिव शङ्कर पोखरेल र नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल बत्ताको रुपमा रहनुभएको थियो। उहाँहरुले सैद्धान्तिक, वैचारिक विषयमा प्रतिस्पर्धा र राष्ट्रिय हित, लोकतन्त्रको सबलीकरण तथा विकासका सन्दर्भमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै एमाले महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस र नेकपा एमाले संसदीय चुनावमा एक्ला एक्लै लड्नुपर्ने बताउनुभयो ।  ‘एमाले र नेपाली काँग्रेस निर्वाचनमा एक्ला एक्लै लडेको भए संसद्मा नेपाली काँग्रेस र एमाले दुवैको सिट सङ्ख्या बढ्थ्यो । यसो गर्दा पनि बहुमत आउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गर्न सकिने र देशले ठुलो दलको नेतृत्व पाउन सक्थ्यो, जसले गर्दा यति बढी राजनीतिक अस्थिरता भोग्नुपर्ने थिएन । यो अस्थिरताले सुशासन, अर्थतन्त्र, परराष्ट्र मामिलामा त नकारात्मक असर पारेकै छ, सामाजिक अराजकता समेत बढाएको छ’,उहाँले भन्नुभयो । 

काँग्रेस नेता डा.मिनेन्द्र रिजालले अहिले राजनीतिक विचलन आएको भन्दै सहकार्य र प्रतिष्पर्धा कोसँग गर्ने भन्ने कुरामा गम्भीर हुनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था प्रतिस्पर्धा कम र सहकार्य बढी भएको अवस्था हो । सहकार्य कोसँग र कसरी भन्ने विषयमा नेतृत्व अलि गम्भीर हुनुपर्ने हो । यस्तो अवस्थाको प्रारम्भ लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनपछि देखि नै सुरु भएको हो । त्यति बेला नेपाली काँग्रेस र नेकपा एमालेभन्दा नेकपा (माओवादी) संसद्मा शक्तिशाली रहेको थियो । तर, त्यो सरकार पनि पूरा अवधि टिक्न सकेन ।’ 

कार्यक्रममा दुबै नेताहरुले नेकपा एमाले र नेपाली काँग्रेसबिच चुनावमा प्रतिस्पर्धा र राष्ट्र निर्माणमा सहकार्य हुनपर्नेमा जोड दिनुभयो । 

सहभागीहरूका प्रश्नमा दुवै नेताले लोकतन्त्रको सुदृढीकरण,भ्रष्टाचार निर्मूलन, अर्थतन्त्रमा सुधारका विषयमा दलहरूबिच राजनीति सहमति हुनुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा राजनीतिकर्मी, बुद्धिजीवी, लेखक, शिक्षक, प्राध्यापक, सामाजिक अभियन्ता, अध्येता, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।  

मदन भण्डारी फाउन्डेसनले समसामयिक विषयमा सञ्चालन गर्दै आएको जबज संवाद शृङ्खलाको दोस्रो भाग पूरा गरेको छ । फाउन्डेसनले मदन भण्डारी छलफल शृङ्खला र जबज संवादको माध्यमबाट भिन्न भिन्न विषयमा सैद्धान्तिक वैचारिक बहस सञ्चालन गर्दै आइरहेको छ ।