अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ। मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो।

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो ।

वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ ।

यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउने छुटेका इँटाभट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।

आगामी शैक्षिकसत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने पाँच वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने निर्देशक लालले बताउनुभयो । स्थानीय तहस्तरमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोपकार्य अनिवार्य गरिने छ । महाशाखा निर्देशक डा लालले सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत खोप सप्ताह सफल बनाउन लागि अनुरोध गरिएको जानकारी दिनुभयो ।

Skip This