चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।’ प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्त्वपूर्ण खेल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो खेल सुरक्षित र साहसी खेल हो ।’
आफू पनि मौका मिलाएर यहाँ आएर खेल्ने उहाँले बताउनुभयो । साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उहाँको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उहाँले बताउनुभयो । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरी यो खेल आएको उहाँले बताउनुभयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । प्याराग्लाइडिङका लागि तोकेको मापदण्ड पूरा गरी सुरक्षित रूपमा खेलाइनुपर्ने उहाँको भनाइ थियो ।
पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।
जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रूपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उहाँले बताउनुभयो । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो।
यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो । हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ।
पोखरामा तालमाथि उड्ने, हिमाल देखिने लगायतका कारण छुट्टै रमाइलो रहेको जनाउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिको उडान अझै महत्त्वपूर्ण रहेको बताउनुभयो । विगत सात वर्षदेखि अनुभव सँगालेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो।
नारायणगढ-मुग्लिङ सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ।






प्रतिक्रिया