अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युतीय सार्वजनिक सवारीको भाडादर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)

विद्युतीय सार्वजनिक सवारीको भाडादर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)


काठमाडौं-सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचीअनुसार तराईको २५० किलोमिटरभन्दा लामो दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा

, २५ देखि २५० किलोमिटरसम्म ३ रुपैयाँ तथा काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ रुटमा ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको छ।

काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ रुटमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको विभागले जनाएको छ।

डिलक्स र सुपर डिलक्समा थप भाडा

विभागका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा प्रमाणित गराएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन सक्नेछन्। सुपर डिलक्स सुविधा लिएका सवारीसाधनले डिलक्स भाडादरमा थप २० प्रतिशत रकम लिन पाउने व्यवस्था गरिएको छ।

विभागले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई तोकिएको नियमअनुसार अनिवार्य सहुलियत दिनुपर्ने जनाएको छ। यस्तो सहुलियत निश्चित रुट, कोटा वा दिनमा सीमित नगरी उपलब्ध गराउनुपर्नेछ। सहुलियत लिन यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ।

बढी भाडा लिए कारबाही

विभागले लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था पनि गरेको छ। चालक तथा सहचालकले परिचयपत्र वा निर्धारित पोसाक लगाउनुपर्नेछ।

तोकिएकोभन्दा बढी भाडा लिएको पाइएमा कारबाही गरिने विभागले चेतावनी दिएको छ। बढी भाडा असुली भएको अवस्थामा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।

ट्रकको भाडादर पनि समायोजन

यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादर पनि समायोजन गरिएको छ। विभागले तराई क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ७७ पैसा भाडा निर्धारण गरेको छ। १० टन क्षमतालाई आधार मानेर विभिन्न रुटको भाडादरसमेत तोकिएको छ।

निर्धारित दरअनुसार वीरगञ्ज–काठमाडौँ पहाडी रुटमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौँ रुटमा ३२ हजार १४१ रुपैयाँ कायम गरिएको छ।

यात्रुले यात्रा गर्नुअघि सम्बन्धित रुटको निर्धारित भाडादरबारे जानकारी लिन र तोकिएकोभन्दा बढी रकम असुली भएमा सम्बन्धित निकायमा उजुरी गर्न विभागले आग्रह गरेको छ।