काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन पार्टीका नेताहरूले हिजो कमिसनका लागि देशका उद्योगहरू बेचेर खाएको भन्दै अहिले पनि त्यो क्रम नरोकिएको बताउनु भएको छ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निजीकरणका नाममा नेपालका ठुला उद्योग बेचिएको र अहिले पनि त्यो क्रम जारी रहेको बताउनु भएको हो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो जति पनि ठूला उद्योगहरू थिए, ती बन्द गरिएका छन्, निजीकरण मात्र होइन तर बेचिएका छन्। ‘कमिसनका लागि हिजो ठुलठुला उद्योग कौडीको भाउमा बेच्ने काम भयो र अहिले पनि बेच्ने काम हुन लागेका छन्, त्यसलाई रोक्नुपर्छ।’
अध्यक्ष ओलीले सत्तासीन पार्टीले बाँसबारी छालाजुत्ता कारखाना किन चाहियो ? बन्द भएको ठिक छ भनेर अभिव्यक्ति दिने गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘किन चाहियो कागज कारखाना, किन युनिभर्सिटी ? भन्नेहरू छन् । त्यसैले अहिले देश अप्ठेरो स्थितिमा छ । देशलाई यो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्छ। हामीले सरकार छोडेको २ वर्ष नपुग्दै अर्थमन्त्रीले भर्खर भन्नुभयो, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा चाहिँ पुगेका छैनौ है भन्नुभयो ।’
अध्यक्ष ओलीले लोकतन्त्र विरोधी केही तत्वहरु सक्रिय भएर सलबलाएको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि त्यसैगरी बसेका छन् !’




प्रतिक्रिया