काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र विरोधी केही तत्वहरु सक्रिय भएर सल्बलाएको बताउनुभएकाे छ।
१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आज काठमाडाैंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र जनताले पाएको उपलब्धि विरुद्ध अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका बताउनुभयाे।
अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीले बताउनु भयो । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी भइरहेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं । अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएको उपलब्धि विरुद्ध अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्, कोही-कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्, नेपाली जनता सजक हुनुपर्छ ।’
अहिलेकाे सरकारले केही गर्न नसकेकाे र यसलाई जनताले हटाउन नसकेका भन्दै अध्यक्ष ओलीले केही गर्न नसक्ने सरकार सरकारमा बस्न उचित नहुने बताउनुभयाे। उहाँले भन्नुभयो, ‘वर्तमान सत्तारुढ गठबन्धनको सरकार सरकारमा किन बसीरहेको छ ? जनताले हटाउन सकिराखेका छैनन । त्यो आफ्नो ठाउँमा छ । तर सरकार नै किन बसीराखेको छ ? अचम्म लाग्दो छ किन बसीराखेको छ ? केही पनि गर्न नसक्ने सरकार ।’
फाेहाेरमाथि राजनीति गरेर जनतालाई मर्कामा पार्ने काम भइरहेकाे भन्दै उहाँले यस्ताे बेला सरकार निरिह बनेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘सिंहदरबारकाे फाेहाेर काठमाडाैं महानगरले उठाउने नै हाेइन, शहरी विकास मन्त्रालयले सिंहदरबारकाे फाेहाेर उठाउने ठेक्का अर्कैलाई लगाएकाे छ, अनि महानगरले उठाउन्न भन्याे, त्यसले उठाउने नै हाेइन सरकारले भन्नै सक्दैन, सरकारले लगाएकाे ठेकदारले किन उठाउन छाेड्याे ? सिंहदरबारमा फाेहाेर थुपारेर राेग फैलाउन पाइन्छ ? षड्यन्त्र गर्न पाइन्छ ? यहाँ फाेहाेरमाथि राजनीति गर्ने, जनतालाई पीरमर्का पार्ने काम भइरहेकाे छ, सरकार निरिह छ केही गर्दैन ।’
किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको भन्दै उहाँले सरकारले स्वार्थका लागि प्राेफेसर र किसानलाई पक्षपात गरेकाे बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘एक जना किसान अनसन बसेकाे छ, कुनै बुद्धिजिवी कसैलाई मतलब छैन, एक जना प्राेफेसर अनसन बस्याे भने भाेलिपल्टदेखि सञ्चार माध्यमहरु रंगिन्छन्, बुद्धिजिवी कराएर खप्नु खानुहुँदैन, अनि एउटा किसान नेता अनसन बस्दा किन सबै चुप लाग्छन् ? मानवीय संवेदनशिलता यहाँ फरक फरक व्यवहार गरिएकाे छ, घटिया राजनीतिक स्वार्थ पूर्तिका लागि सबै कुराहरू भइरहेका छन्, मजदूरको हितमा सरकार चुप लागेर बस्नु गैरजिम्मेवारीपन हो ।’




प्रतिक्रिया