अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेमौसमी झरीले भेडा मर्न थाले

बेमौसमी झरीले भेडा मर्न थाले


ढोरपाटन – चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी व्यहोर्नु परेको छ। एक सातादेखि परेको अविरल वर्षाका कारण बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद घर्तीमगरले जानकारी दिनुभयो।

वैशाख ८ गतेदेखि लगातार पानी पर्दा घाँस र दाना खाना नपाउँदा भेडा मरेको घर्ती मगरको भनाइ छ । घर्तीमगर भन्नुहुन्छ, 'पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो, पानीले गर्दा घाँस काटेर खुवाउन पनि सकेका छैनौँ, यहाँ हजार बढी भेडा भएको हुँदा सबैलाई काटेर खुवाउन सक्ने अवस्था पनि छैन, अहिलेसम्म साठी बढी भेडा मरे अझै मर्दैछन् ।'

पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । चिसोले गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको छ । हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको तीनवटा र प्रताप रोकाको १२ वटा भेडा मरेका छन् । मरेका भेडा केही खापामा छरपस्ट छन् भने केही गोठकै पल्टिएका छन् । बेँसीमा घाँस सकिएपछि वैशाख ४ गते पातीहाल्ने भेडा लिएर आएका पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का सत गुरुङले बताउनुभयो । अझै केही दिन निरन्तर वर्षा भए यहाँ भएका सबै भेडा मर्ने गुरुङ बताउनुहुन्छ । आफूहरुको मुख्य पेसा भेडापालन भएको भन्दै वर्षाले गर्दा एकै सातामा लाखौँ नोक्सानी व्यहोर्नु परेको गुनासो पोख्नुभयो ।

“भेडा पालेरै परिवार चलाएको थिएँ, तीन सय भेडामध्ये २५ वटा मरे अझै मर्न थालेका छन्, निकै दुःख भयो, हाम्ले भेडा पाल्न थालेको धेरै वर्ष भयो, अहिलेसम्म यस्तो अनिष्ट भएको थिएन, अहिले गर्मी याम सुरु भएर पनि यस्तो चिसो छ, बर्खामा झैँ ठूला झरी परिरहेको छ, सबै सकिन्छन् भन्ने डर छ, बेँसी लगौँ भने पनि भोकाएका भेडा बाटैमा मर्छन्, यहाँ यस्तो बिजोग भइसक्यो ।”

पातीहाल्ने क्षेत्रमा तीनवटै जिल्लाका भेडापालक कृषकहरु भेडा लिएर आएका छन् । उनीहरुको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन् । दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरुको भनाइ छ । पातीहाल्ने क्षेत्र तीन हजार दुई सय मिटरको उचाइमा पर्छ ।

Skip This