अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन: मतदानको समय बेलुका ७ बजेसम्म थपियो

कांग्रेस महाधिवेशन: मतदानको समय बेलुका ७ बजेसम्म थपियो


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ। निर्वाचन समितिले शुक्रबार मतदानको समय बढाएर बेलुका ७ बजेसम्म कायम गरेको हो।

यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय निर्धारित अवधिमा मतदान नसकिएपछि थप गरिएको निर्वाचन समितिले जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई समय थप गरिएको जानकारी गराएका छन्।

काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा रहेका मतदान केन्द्रमा बिहानदेखि मतदान भइरहेको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानका लागि थप समय उपलब्ध गराइएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित विभिन्न पद र समूहका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको हो।

निर्वाचन समितिका अनुसार शुक्रबार अपराह्न ४:३० बजेसम्म ४ हजार ५७५ मत खसेको छ। प्रदेश तथा समूहगत विवरणअनुसार बागमतीमा १ हजार ६३, मधेसमा ७९०, लुम्बिनीमा ७००, गण्डकीमा ६५१, कर्णाली तथा जनसम्पर्क समितिबाट ४९१, सुदूरपश्चिममा ४५० र कोशी प्रदेशमा ४३० मत खसेको छ।

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको विवरण प्राप्त भएको छ। मतदान सम्पन्न भएपछि कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।