अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ: गगन थापा

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ: गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनु भएको छ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गर्नुभयो ।

महामन्त्री थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो। 

उहाँले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेलसम्म स्वतः निलम्बनमा पर्ने बताउनु भयो। उहाँले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले शरणार्थी प्रकरणमा हाम्रो पार्टीका नेता मुछिनुभयो। नेता मुछिएपछि विधिको शासन भएको ठाउँमा कानूनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ। अनुसन्धानबाट दोषी ठहरिन्छ भने सजाय पाउनुपर्छ। राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुछिन्छन् सबैलाई कारबाही हुनपर्छ। त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन।’ 

अभियोग लागेपछि जोसुकै निलम्बनमा पर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन। अहिले तत्कालै पार्टीले उहाँ (बालकृष्ण खाँण) लाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ। अनुसन्धानमा कतै पार्टी देखिनु हुँदैन। जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ।’