काठमाडौं-नेकपा एमालेकी सांसद पद्मा अर्यालले चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कल्याणराज शर्मासँग पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा चीनमा समस्यामा परेका नेपाली चेलीहरूको उद्धार र सुरक्षाबारे प्रश्न गरेकी छन्।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले चिनियाँ लगानीमा निर्माण भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रस्तावित राजदूत शर्माले कस्तो भूमिका खेल्ने भन्दै प्रश्न गरेकी हुन्।
चीन नेपालमा लगानी गर्न तत्पर रहे पनि त्यसको उचित उपयोग गर्न नसकिएको उल्लेख गर्दै अर्यालले दुई विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, विवाहको नाममा चीन पुगेका नेपाली चेलीहरू समस्यामा पर्ने गरेको विषयलाई पनि अर्यालले गम्भीरतापूर्वक उठाइन्। उनले चीनमा समस्यामा परेका नेपाली महिलाको सुरक्षा र समस्या समाधानका लागि राजदूतले कस्तो पहल गर्नुहुन्छ भन्दै शर्मासँग जवाफ मागिन्।
‘नेपाली चेलीहरू समस्यामा छन्,’ अर्यालले प्रश्न गरिन्, ‘अहिलेको यो ज्वलन्त समस्यालाई कसरी समाधान गर्नुहुन्छ?’
चीनका लागि प्रस्तावित राजदूत शर्मासमक्ष अर्यालले उठाएका प्रश्नले नेपाल–चीन आर्थिक सहकार्यलाई व्यवहारमा उतार्ने तथा चीनमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा कूटनीतिक भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नलाई अघि सारेको छ।



प्रतिक्रिया