काठमाडौं – घरमै खाना पकाउने ग्यास लिकपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई सभामुख देवराज घिमिरेले भेट्नुभएको छ।
बुधबार साँझ बत्तिसपुतलीस्थित निवासमा पुगेर सभामुख घिमिरेले भण्डारीलाई भेट्नु भएको हो ।
सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ। घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ। जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ। तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठीन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो। सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ।’
सभामुखले भन्नुभयो, ‘चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं। तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ। अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला।
महासचिव डा. भरतराज गौतमले भन्नुभयो, ‘माननीयज्यूको स्वास्थ्यले साथ दिन्छ भने सचिवालयले विशेष व्यवस्था गर्छ।’
२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो। मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराएर उहाँ वैशाख १७ गते काठमाडौं आउनुभएको थियो।
उहाँकी आमा हरिकला भण्डारीको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुरमा निधन भएको थियो।





प्रतिक्रिया