अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 नेपालगन्जमा ‘खोज र खोप’ अभियान

 नेपालगन्जमा ‘खोज र खोप’ अभियान


बाँके-बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । 

‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगन्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालगन्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ ।”

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ । अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ । नेपालगन्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो । 

‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगन्जमा छ सय ९२बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो । “एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो”, शाहीले भन्नुभयो–“घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।”