काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताउनु भएको छ।
बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नदिएको बताउनु भयो।
प्रश्नोत्तरको सवालमा जुन गम्भिरताको साथ, जुन महत्वका साथ जसरी माननीयहरूले प्रश्न उठाउनुभयो प्रधानमन्त्रीज्यूबाट त्यही हिसाबले प्रश्नको उत्तर आएन,’ उनले भने।
प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उहाँले बताउनु भयो। मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उहाँको भनाई छ।
उहाँले भन्नुभयो, ‘एउटा औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ। आउने प्रश्नोत्तरहरुमा अझै धेरै तयारी गरेर र योजनाका साथ यस्ता प्रश्नोत्तरमा उहाँहरु सहभागी हुनुपर्छ भन्ने म ठान्छ । अहिले मुलुकमा आर्थिक मन्दी छ। आर्थिक संकट गहिरिँदो छ। यो समस्याको समाधान गर्नका लागि सरकारका ठोस योजनाहरु के हुन् त भनेर जुन हामीले एउटा प्रश्न थियो त्यो प्रश्नको पनि चित्तबुझ्दो ढंगले जवाफ आएन।’
सरकार कुहिरोको कागजस्तो दिशाहीन अवस्थामा रहेको उहाँले बताउनु भयो।
प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार कुहिरोको काग जस्तो छ। अहिले पनि दिशाहीन स्थितिमा छ। धेरै इस्युहरुमा प्रष्ट हुन सकिराखेको छैन । भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन। रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुप¥यो। अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन। आयातलाई प्रतिस्थापन गर्नेखालका क्षेत्रहरुमा लगानी बढाउनु प¥यो। क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु।’




प्रतिक्रिया