अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीकै मिलेमतोमा एभरेष्ट बैंकबाट डेढ करोड गायब

कर्मचारीकै मिलेमतोमा एभरेष्ट बैंकबाट डेढ करोड गायब


सुनसरी – एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ। ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो।

३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म नौं जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी राजकुमार राईका अनुसार चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे-८ घर भएका विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर-८ का निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल छन्।

त्यस्तै धनुषाको मिथिला नगरपालिका-११ का शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका-२ का अजय खिउजू पनि पक्राउ परेका छन्। पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख भन्दा धेरै रकम चोरी भएको र उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको उहाँको भनाइ छ । उनीहरुमाथि बैँकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताउनुभयो।