काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको छ।
अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आज ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाल विविधताको देश हो। हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन् । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ। यो सम्पत्तिको हामीले त्यसैअनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ। यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म। कहिले एउटै धर्म भित्र पनि त्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन्। धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन्। धर्मका नाउमा देश विनाश भएका छन्। धर्मका नाउमा मानिसहरू मारिएका छन्। त्यसकारण हामीले अतिमा जानु हुँदैन। नकारात्मक सोचमा जानु हुँदैन।’
अध्यक्ष ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत पनि गराउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले। यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ। कहिले राजनीतिक स्वार्थहरूका लागि, अरु स्वार्थ होइन। राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ।’





प्रतिक्रिया