अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मरेपछि मेरो सालिक बनाउनु पर्दैन: अध्यक्ष ओली

मरेपछि मेरो सालिक बनाउनु पर्दैन: अध्यक्ष ओली

स्मृति दिवस मनाएर खर्च पनि गर्नु पर्दैन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने निर्णय ऐतिहासिक निर्णय भएको बताउनुभएको छ। 

महिला अधिकार दिवसको अवसरमा मंगलबार आयोजित महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘त्यो काम एमाले र अखिल नेपाल महिला संघको अगुवाइमा भएको हो । नेकपा एमाले र अखिल नेपाल महिला संघ महिला अधिकार र जागरणका वाहक हो ।’ 

कार्यक्रममा बोल्दै ओलीले समय छोटो भएकाले गर्नुपर्ने काम छिट्टै गर्नुपर्ने बताउनुभयो। पुरानो पिँढी विस्थापित हुँदै जाने र नयाँ पिँढीलाई काम र स्थान दिँदै जानु पर्नेमा उहाँले जोड दिनुभयो। 

मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने ओलीले बताउनुभयो । आफ्नो काम छाडेर मरिसकेको मानिसलाई सम्झिएर समय खेर फाल्नु बेकार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किन सम्झिरहनु बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दै, मूर्ति बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन, मेरो धारणा त्यो हो।’ 

पदमा रहँदा वरिपरि घुम्ने र पदबाट हटेपछि छाड्ने प्रवृत्ति नेपाली समाजमा रहेको कुरा बुझ्न उहाँले आग्रह गर्नुभयो । काम गर्न पनि नसक्ने छोड्न पनि नचाहने प्रवृत्ति पनि त्यतिकै भएको उहाँले प्रष्ट पार्नुभयो । हरेकले सक्रियताको साथ काम गर्ने र काम दिने कुरा बिर्सन नहुने ओलीले बताउनुभयो ।