नयाँदिल्ली — जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको एउटा विमान सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा डाइभर्ट गरी आपतकालीन अवतरण गराइएको छ। विमान अपहरणमा परेको आशंकापछि विमानलाई जयपुरतर्फ मोडिएको हो।
एयर इन्डियाको उडान नम्बर एआई २०३० को उक्त विमान जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बोइङ ७८७–९ विमान अघिल्लो रात फ्र्यांकफर्टबाट दिल्लीका लागि उडेको थियो।
बुधबार बिहान ९:०५ बजे हवाई ट्राफिक नियन्त्रण (एटीसी) र अहमदाबादस्थित सम्बन्धित अधिकारीहरूले विमानसँग सम्बन्धित आपतकालीन सूचना प्राप्त गरेका थिए। त्यसपछि सुरक्षा सतर्कता अपनाउँदै विमानलाई दिल्लीको सट्टा जयपुर डाइभर्ट गरिएको थियो।
सुरुमा विमानमा बम रहेको धम्की आएको खबर सार्वजनिक भए पनि विमानस्थलका एक अधिकारीले बमको धम्की नभई विमान अपहरणसम्बन्धी हल्ला रहेको बताएका छन्। घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान भइरहेको ती अधिकारीले हिन्दुस्तान टाइम्सलाई बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्ने क्रममा पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेका थिए। यो कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेत गर्न प्रयोग गरिन्छ।
विमान अवतरण गरेपछि सुरक्षा जाँचका लागि त्यसलाई विमानस्थलको आइसोलेसन क्षेत्रमा राखिएको थियो। त्यसलगत्तै केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), स्थानीय प्रहरी, बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली र दमकलसहितका सुरक्षा निकाय परिचालन गरिएका थिए। राजस्थान प्रहरीका वरिष्ठ अधिकारीसमेत विमानस्थल पुगेका थिए।
प्रहरीका सहायक आयुक्त शिव दयालका अनुसार फ्र्यांकफर्ट–दिल्ली उडानको आपतकालीन अवतरणबारे विमानस्थलका अधिकारीहरूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि विमानलाई जयपुरतर्फ मोडिएको थियो।
प्रारम्भिक विवरणअनुसार विमानमा सवार यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालेर विमानस्थलको टर्मिनलभित्र तोकिएको सुरक्षित क्षेत्रमा राखिएको थियो। उनीहरूको कुल संख्या भने तत्काल सार्वजनिक भएको छैन।
समाचार तयार पार्दासम्म एयर इन्डिया र विमानस्थल प्रशासनले घटनाबारे आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्। विमान अपहरणको आशंकाको कारण र घटनाको वास्तविकताबारे थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया