अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा कार दुर्घटना हुँदा उपप्रधानमन्त्री खड्काकी भाइबुहारी सहित दुईजनाको मृत्यू

बाँकेमा कार दुर्घटना हुँदा उपप्रधानमन्त्री खड्काकी भाइबुहारी सहित दुईजनाको मृत्यू


नेपालगञ्ज -बाँकेमा आज भएको दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।

५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका एसपी योगेन्द्र थापाले जानकारी दिनुभयो।

चिकित्सक पेशा गर्ने सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुनुुहुन्थ्यो। डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुनुहुन्छ।

बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।

सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पुर्‍याएको थियो।

अस्पताल पुर्‍याएको केही बेरमै कारमा सवार डाक्टर खड्का र चालकलाई चिकित्सकले मृत घोषणा गरेको एसपी राठोरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए। उनीहरूमध्ये ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। बसलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुवै सवारी अध्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।