काठमाडौं-नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
एमाले सरकारले अघि बढाएका आधारभूत अस्पतालको निर्माण प्रक्रिया लगायत कार्यक्रम अघि बढाउन माग गर्दै एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभागले मंगलबार मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएकाे हाे।
विभागका प्रमुख कृष्ण गोपाल नेतृत्वमा पुगेकाे टोलीले विगतको सरकारले ३९६ ठाउँमा आधारभूत अस्पतालको शिलान्याश गरे पनि अहिले बजेट अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग मन्त्री बस्नेतसँग माग गरेकाे छ।
आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरुको निर्माण चाँडो सम्पन्न गर्नुपर्ने र प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने नियम कडाईसाथ लागू गर्नुपर्ने एमालेले माग गरेकाे छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने, संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन गर्नुपर्ने एमालेकाे माग छ।
ज्ञापनपत्र बुझाउँदै विभागका प्रमुख श्रेष्ठले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्दै स्वाथ्यकर्मीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य सम्बन्धी विषयमा आएका सुझावहरु महत्वपूर्ण रहेको भन्दै यसलाई आवश्यक छलफल गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।






प्रतिक्रिया