अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना


काठमाडौं-काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउन पछाडि सार्ने क्रममा दुर्घटना भएको हो । बस ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको उनले जानकारी दिए ।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उद्धार गरिएका ९ जना घाइतेलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण खुल्न सकेको छैन । घटनास्थलमा अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।