काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार पछिल्लो समय तीव्र गतिमा बढिरहेका साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्न सम्बन्धित निकायबीच समन्वय र प्रविधिको प्रभावकारी प्रयोग आवश्यक छ।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा कार्कीले यस वर्ष भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा नेपाल प्रहरीले ठूलो क्षति बेहोर्नुपरेको बताए।
उनका अनुसार कर्तव्यपालनका क्रममा भोटेकोशीको बाढीबाट तीन प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। विपद्का क्रममा सहकर्मी गुमाउनु प्रहरी संगठनका लागि सबैभन्दा पीडादायी पक्ष भएको उनले बताए ।
भदौ १० गते आएको भोटेकोशी र त्रिशूलीको बाढीले प्रहरी संगठनको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय छाडेको उनको भनाइ थियो।
‘विनाशकारी बाढीपछि कठिन भूगोलमा प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज, उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायताको अग्रपङ्क्तिमा रहेर काम गरेको थियो,’ उनले भने ।
कार्कीले कर्तव्यपालनका क्रममा हालसम्म एक हजार ७९८ जना प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेको जानकारी दिँदै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पुर्याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे ।
उनले आगामी दिनमा सम्भावित विपद्को सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन सरकारले नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा जोड दिएको बताए।
यसैगरी, नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिए। प्रहरी दिवसका अवसरमा विमोचित ‘पुलिस मिरर’ ले प्रहरी संगठनको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
‘जस्तोसुकै कठिन परिस्थितिमा पनि विधिको शासन सुनिश्चित गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहनेछ,’ उनले भने।



प्रतिक्रिया