काठमाडौँ-नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा बुढाहरुको क्लब भएको बताउनु भएको छ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लब भएको बताउनु भएको हो । उहाँले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गर्नुभयो।
‘यो प्रौढहरुको क्लब हो। यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो …। यो बुढाहरुको क्लब हो । भविष्यको सपना केही पनि छैन’ भट्टराईले भन्नुभयो, ‘समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन्। मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’
सांसद भट्टराईले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताउनु भयो । उहाँले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताउनु भयो।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन्।




प्रतिक्रिया