काठमाडौँ-१३ वर्षअघि जापानबाट फर्किएर कुमार कार्कीले रिसोर्टसँगै सोखको रूपमा सुरु गरेको अंगुर खेती अहिले उद्योगको रूपमा विकास हुँदै देशैभरि फैलिने क्रममा छ । उहाँकै अगुवाइ र विभिन्न कम्पनीहरू मार्फत अंगुर खेती र बाइन उद्योगको विस्तारले नेपालमा नयाँ सम्भावनाको ढोका समेत खोलिदिएको छ ।

काठमाडौँबाट नजिकै रहेको बडभञ्ज्याङ्मा उहाँले पातलेवन रिसोर्टसँगै केही अंगुरका बिरुवा पनि रोप्नु भएको थियो । जापानबाट ल्याइएका बिरुवाले फल पनि राम्रोसँग दिएपछि त्यसैलाई प्रशोधन गरी बाइन उत्पादन सुरु गर्नुभयो । त्यसपछि नेपालमा पनि अंगुर खेतीको व्यवसायीक सम्भावना देखेपछि उहाँको साथमा थपिनुभयो ध्रुवकुमार खत्री र जनपाल थापा । त्यसपछि अहिले विभिन्न स्थानमा गरी करिब ५ सय रोपनी क्षेत्रफलमा अंगुर खेती विस्तार भएको छ ।

फैलिँदो सञ्जाल
२०६७ सालमा पातलेवन भिनयार्ड सुरु भएको अंगुर खेतीको लहरो धादिङ्को थाक्रे १० केवलपुर, थाक्रेकै काउले, धुनवेसी ८ को खानीखोला हुँदै नयाँ परियोजनाको रूपमा तनहुँको घिरिङ् गाउँपालिका सम्म पुगेको छ । यहाँबाट पहिलो उत्पादन समेत सुरु भएको कम्पनीका निर्देशक खत्रीले जानकारी दिनुभयो । स्वदेशमानै पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना देखेर सुरुमा ‘रिक्स’ मोल्दै सुरु भएको उद्यम अहिले क्रमिक रूपमा फैलिने क्रममा रहेको उहाँको भनाई छ । बाइन उत्पादनको रूपमा मात्र नभई आधुनिक र व्यवसायीक कृषि, कृषि भित्र पनि नयाँ नयाँ सम्भावनाहरूको खोजी र त्योसँगै पर्यटन व्यवसायलाई समेत प्रवर्द्धन हुनेगरी सामूहिक रूपमा प्रयास गरिएको उहाँले बताउनुभयो ।

हाल मुख्यगरी बाइन उत्पादनका लागि कच्चा पदार्थको रूपमा अंगुर उत्पादन रहेको र नमुनाका रूपमा त्यसै खान रुचाइने प्रकारको अंगुर पनि लगाउन थालिएको छ । त्यसको उत्पादन र नतिजाका आधारमा आगामी दिनमा थप परियोजना सञ्चालन गर्ने जनाइएको छ ।

आगामी लक्ष्य
छिटो उत्पादन आवश्यक भएकाले यो समूहले सुरुमा जापानबाट बिरुवा ल्याएर खेती सुरु गरेको थियो । त्यसपछि युरोपबाट पनि बिरुवा ल्याउने गरिएको छ । छिटो उत्पादन चाहिने भएकाले हुर्किएका बिरुवाहरू ल्याएर खेती सुरु गरेको खत्रीले बताउनुभयो । तर नेपाली किसानहरु माझ पुर्याउने लक्ष्यसहित बिरुवा उत्पादनको पनि लक्ष्य रहेको उनको भनाई छ । यसैगरी हाल आमरुपमा बजारमा पाइने, त्यसै खाने प्रकारको अंगुर पनि उत्पादन भई रहेको छ । अभ्यासकै रूपमा रहेकाले आगामी दिनमा यसलाई विस्तारको योजना पनि छ ।

समस्या र अपेक्षा
आधुनिक र व्यवसायीक कृषिका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि त्यसको प्रभावकारी उपयोग किसानले गर्न नपाएको यि अंगुर उद्यमीहरुको पनि छ । खत्रीले भन्नुभयो,‘कृषिका कुरा जति गरे पनि सरकारको प्राथमिकतामा अंगुर खेती परेको छैन । कृषि ऋण भनेर ४ प्रतिशतमा दिए पनि वृद्धि भएर १० प्रतिशत नाघ्ने गरेको छ । यस्तो अवस्थामा धन्न पो काम गर्दै आएका छौं जस्तो लाग्छ ।’

सरकारले अंगुर खेतीसँगै नतिजा देखिनेगरी नेपाली कृषिको आधुनिकीकरणका लागि काम गर्ने हो भने बाध्यकारी बैदेशिक रोजगारीलाई पनि कम गर्न सकिने र उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा योगदान गर्न सकिने उनले बताउनुभयो । तर सरकारका कार्यक्रम नारा र प्रचारका लागि नभई किसान र बारी सम्म पुग्ने तथा परिणाम पनि निस्कने प्रकारको हुनु पर्ने उनको जोड छ ।









प्रतिक्रिया