तुलसीपुर-तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ। पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो। यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम आएको हो।
पालिकाको बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख रहेको छ गतवर्ष भने ३० करोड १२ लाख रहेको थियो। आन्तरिकतर्फ गत वर्षभन्दा करिब ६ करोड तीन लाख बढी रहेको छ।
गत वर्षको बजेटमा संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ६२ लाख रहेको थियो भने यो आर्थिक वर्षमा २९ करोड आठ लाख रहेको छ। गत वर्षभन्दा चार करोड कम रहेको छ। उपप्रमुखको अनुपस्थितमा नगरका प्रवक्ता माधव वलीले आज कार्यक्रमबीच बजेट प्रस्तुत गर्नुभयो । बजेटमा संघीय शसर्ततर्फ ६५ करोड, विशेष अनुदान एक करोड, राजश्व बाँडफाँटतर्फ २३ करोड रुपियाँ रहेको छ।
बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड विनियोजन गरिएको छ। त्यस्तै, पालिकाको आफ्नै अस्पतालबाट दिइने सेवा सुविधा बिस्तारका लागि समेत बजेट विनियोजन गरेको छ। वडा नम्बर १, ३, ४ र १९ मा वायु उर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ।






प्रतिक्रिया