काठमाडौं–निर्वाचन समीक्षा तथा पार्टीको पुनर्ताजगीकरणका लागि देशभरबाट सुझाव सङ्कलन गरेको नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको सुझाव सङ्कलन कार्यदलले प्रदेश, विशेष कमिटी, जनसङ्गठन तथा नेता–कार्यकर्ताबाट प्राप्त राय–सुझावलाई समेटेर प्रतिवेदन तयार गरिरहेको एमालेले जनाएको छ।
कार्यदलले २०८३ जेठ ३० गते बागमती प्रदेशबाट सुझाव सङ्कलन सुरु गरेको थियो। त्यसपछि सातै प्रदेश, विशेष कमिटी र जनसङ्गठनबाट प्राप्त सुझावलाई एकीकृत गरी प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ।
प्रतिवेदनलाई अन्तिम रूप दिन बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बोलाइएको छ। बैठकमा देशभरबाट आएका सुझावको समीक्षा गर्नुका साथै कार्यदलका सदस्यहरूको धारणा समेत समेट्ने तयारी गरिएको छ।
कार्यदलका एक सदस्यका अनुसार बैठकपछि प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ। उनका अनुसार देशभरबाट प्राप्त सुझावहरू मिश्रित प्रकृतिका भए पनि अधिकांशले पार्टी पुनर्गठन, सुदृढीकरण र पुनर्ताजगीकरणको पक्षमा मत व्यक्त गरेका छन्।
सुझावमा कतिपयले वर्तमान नेतृत्वको विकल्प खोज्नुपर्ने, कतिपयले केन्द्रीय कमिटी पुनर्गठन गर्नुपर्ने तथा केहीले सबै तहका कमिटी पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्। ती सुझावलाई सन्तुलित रूपमा संक्षेपीकरण गरेर प्रतिवेदनमा समेट्ने तयारी भइरहेको कार्यदल स्रोतको भनाइ छ।
प्रदेश अध्यक्षहरूको फरक–फरक धारणा
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यदलको प्रतिवेदनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष खतिवडाका अनुसार पुनर्गठनको अर्थ नेतृत्व परिवर्तन मात्र नभई पार्टीका समग्र संरचना, कार्यशैली र प्रवृत्तिमा सुधार ल्याउनु पनि हो।
मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने अहिले नेतृत्व परिवर्तनको बहसभन्दा पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय तथा प्रदेश निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। अध्यक्ष मण्डलले महाधिवेशनबाट प्राप्त म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नु उपयुक्त हुने बताए।
बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल ले प्रतिवेदनले पार्टीलाई विधि, विधान र पद्धतिअनुसार सञ्चालन गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार एमालेभित्र विचार, सिद्धान्त र कार्यक्रममा विवाद नरहेको तथा वर्तमान राजनीतिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा मात्रै छलफल आवश्यक छ।
गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा ले पछिल्लो निर्वाचन परिणामले पार्टीलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै कमीकमजोरी सुधार गरी संगठनलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताए। उनले नेतृत्व परिवर्तनको बहसभन्दा जिम्मेवारी व्यवस्थापन र संगठन सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राखे।
यता सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले कार्यदलको प्रतिवेदनले मात्रै पार्टीभित्र देखिएका सबै समस्या समाधान गर्नेमा आफू विश्वस्त नरहेको बताए। अध्यक्ष जैसीका अनुसार सुझाव सङ्कलन प्रक्रिया अझ व्यापक र कमिटीमार्फत हुनुपर्ने थियो। यद्यपि अन्तिम निर्णय भने केन्द्रीय कमिटीको छलफलबाट आउने उनको भनाइ छ।
थापा नेतृत्वको कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा सातै प्रदेशका अध्यक्ष सदस्य रहेका छन्। महासचिव पोखरेलले कार्यदलको सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका छन्।
कार्यदलले तयार पार्ने प्रतिवेदनमाथि एमाले केन्द्रीय कमिटी बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। त्यसपछि पार्टी पुनर्गठन, सुदृढीकरण र आगामी रणनीतिसम्बन्धी आवश्यक निर्णय लिइने एमाले स्रोतले जनाएको छ।






प्रतिक्रिया