काठमाडौं-नेकपा (एमाले) का सचिव महेश बस्नेतले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको आवतजावतमा अवरोध सिर्जना गरिएको भन्दै कडा आपत्ति जनाएका छन्।
सचिव महेश बस्नेतले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको संज्ञा दिँदै बालेन नेतृत्वको सत्ताको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले गणेश नेपालीको आत्मदाह प्रकरणबारे फरक धारणा राखेकै कारण पत्रकार र सञ्चारगृहलाई लक्षित गरी प्रतिशोधपूर्ण गतिविधि गरिएको दाबी गरेका छन्। उनका अनुसार कान्तिपुर अनलाइन, हिमालयन टेलिभिजनलगायत सञ्चारमाध्यमका गेटमा शंकास्पद गाडी छाडेर अवरोध सिर्जना गरिएको हो।
‘गणेश नेपालीले आत्मदाह गर्नु ठीक थियो नभनेकै कारण बालेन सत्ताले पत्रकारहरूसँग प्रतिशोध साँध्दै विभिन्न बहानामा कान्तिपुर अनलाइन, हिमालयन टिभीलगायतका मिडिया हाउसको गेटमा शंकास्पद गाडी छोडाएर अवरोध सिर्जना गरेको छ,’ सचिव बस्नेतले फेसबुकमा लेखेका छन्।
सचिव बस्नेतले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र सञ्चारमाध्यमलाई दबाउने, त्रसित बनाउने वा प्रतिशोधको माध्यम बनाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताएका छन्। उनले आलोचना सुन्न नसक्ने र असहमतिलाई दबाउन खोज्ने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने टिप्पणी गरेका छन्।
‘सरकार ! मेरो देशमा के हुन लागिरहेको छ ? प्रेस स्वतन्त्रता लोकतन्त्रको मुटु हो। स्वतन्त्र प्रेसलाई दबाउने, त्रसित बनाउने वा प्रतिशोधको माध्यम बनाउने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउँछ। आलोचना सुन्न नसक्ने र असहमतिलाई दबाउन खोज्ने कुनै पनि सत्ताले लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न सक्दैन,’ सचिव बस्नेतले लेखेका छन्।
प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिँदै बस्नेतले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारका अवरोध तत्काल अन्त्य गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्। साथै उनले ‘बालेनको अधिनायकवादी प्रवृत्तिले प्रेस स्वतन्त्रताको महत्व कहिले बुझ्ने होला ?’ भन्दै सामाजिक सञ्जालमार्फत प्रश्नसमेत उठाएका छन्।






प्रतिक्रिया