अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ राहदानी प्रणाली सुरु भएकै दिन देशभर प्राविधिक समस्या, सेवाग्राही प्रभावित

नयाँ राहदानी प्रणाली सुरु भएकै दिन देशभर प्राविधिक समस्या, सेवाग्राही प्रभावित


काठमाडौं-सरकारले सोमबारदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ तथा वितरण प्रणाली लागू गरेसँगै देशका विभिन्न जिल्लामा प्राविधिक समस्या देखिएको छ। जर्मन कम्पनी म्युहलबउर र भेरिडोसले सञ्चालनमा ल्याएको नयाँ प्रणाली पहिलो दिनमै अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।

राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा सुरु भएको घोषणा गरे पनि पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दीलगायत जिल्लामा प्रणालीले काम नगरेको जानकारी प्राप्त भएको छ। कतिपय स्थानमा पासवर्डले काम नगरेको तथा कतिपय जिल्लामा सिस्टम नै ‘डाउन’ भएको जनाइएको छ।

प्राविधिक समस्याका कारण त्रिपुरेश्वरस्थित राहदानी विभागमा समेत सेवाग्राहीको भीड बढेको छ। नयाँ प्रणाली सञ्चालनसँगै पुरानो प्रणाली विस्थापित गर्ने सरकारी योजना सुरुमै चुनौतीमा परेको देखिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बिहान दुई जना नाबालकको पासपोर्ट छपाइ गरेर नयाँ प्रणालीको औपचारिक उद्घाटन गरेका थिए। विभागले करिब एक करोड नेपालीको डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न भएको दाबी गरे पनि फिल्डमा भने प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले गर्दै आएको राहदानी व्यवस्थापनको जिम्मेवारी हाल जर्मन कम्पनीलाई हस्तान्तरण गरिएको हो। नेपालको इतिहासकै सवैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

Skip This