अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विभूतिको अर्जुनदृष्टि लोकार्पणले छोडेको काव्यतरङ्ग

विभूतिको अर्जुनदृष्टि लोकार्पणले छोडेको काव्यतरङ्ग


काठमाडौँ-बालप्रतिभा विभूति अधिकारीको दोस्रो कृति ‘अर्जुनदृष्टि’ कविता सङ्ग्रह विमोचन भएको छ ।

कविको १७ औँ जन्मोत्सवका अवसरमा शुक्रबार छन्द–तरङ्ग काठमाडौँले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. चूडामणि बन्धुले कृतिको लोकार्पण गर्दै भर्खरै सत्र वर्षमा प्रवेश गर्दै गरेको एउटा बालकले लेखेका यी कविताहरू पढ्दा निकै परिपक्व कविहरू प्नि झस्किने हुनाले नेपाली छन्द कविताका क्षेत्रमा यसले एउटा नयाँ तरङ्ग सिर्जना गर्ने बताउनुभयो । 

प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको जोडीबाट २०७५ मा छन्द कविताको स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित सुरु गरिएको छन्द–तरङ्गले यस्ता उल्लेखनीय प्रतिभाहरूलाई खोजी गरेर बाहिर ल्याउने काम गरेको छ । अत्यन्त निर्दोष, परिष्कृत, सूक्तिपूर्ण र युगीन स्वरले भरिएका ४९ ओटा कविताहरूको सङ्ग्रह ‘अर्जुनदृष्टि’मा शास्त्रीय छन्दको मानक प्रयोग भएको पाइन्छ । 

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्नुहुने नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, पूर्व काव्यविभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल, वरिष्ठ भारतीय नेपाली स्रष्टा एवम् भाषा सङ्ग्रामी प्रा. तेजमान बराइली, कवि तथा समालोचक प्रभा भट्टराई, नवसर्जकहरूका उत्प्रेरक दीपक गौतम, एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरे, निर्देशक देवी घिमिरे, ऐरावती प्रकाशनका अध्यक्ष तथा स्रष्टा रामदेव पाण्डेलगायतका वक्ताहरू सबैले विभूतिको कविता लेखन उमेरभन्दा निकै परिपक्व रहेको र ‘अर्जुनदृष्टि’भित्रका कविताहरू भाव, विचार र शिल्प तीनओटै कुराले अत्यन्त उत्कृष्ट रहेको कुरामा जोड दिनुभएको थियो ।

छन्द–तरङ्गका संयोजकमध्येका एक तथा विभूतिका छन्दगुरु प्रा.डा. देवी नेपालले त विभूतिको कविता लेखनले आफूलाई पराजित गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कोभिडको महामारीका बेलामा विभूतिले आफू र दीपक गौतमबाट अनलाइनमार्फत छन्द सिकेको तीन महिनाभित्रैमा १४ वर्षको उमेरमा ‘अद्भुत इन्द्रेनी’जस्तो उत्कृष्ट खण्डकाव्य लेख्नु र प्रकाशनसमेत गर्नु आफैँमा आश्चर्यजनक थियो, त्यसमा पनि अहिले १७ वर्षमा प्रवेश गर्दैगर्दा निकै परिपक्व छन्दसाधकहरूलाई समेत चुनौती दिने खालका परिष्कृत छन्दकविताहरूको एउटा सिङ्गो कृति नै लिएर आउनु अर्को अद्भुत कार्य भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि विभूतिले गुरुजन र अग्रजहरूको योगदानप्रति आफू सदैव नतमस्तक रहने प्रणसहित अनुष्टुप् छन्दको ‘अर्जुनदृष्टि’ र पञ्चचामर छन्दको ‘म बालक’ शीर्षकका दुईओटा कविता वाचन गरेका थिए ।  

कार्यक्रममा वाकवि सुदेश सत्याल र अनुज्ञा नेपालले विमोचित कृतिबाट एक एक वटा कविता वाचन गर्नुभएको थियो भने कविका पिता रामप्रसाद उपाध्यायले आशीर्वाद मन्तव्य राख्नुभएको थियो । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव तथा १४ वर्षकै उमेरमा ‘अभियुक्त समय’जस्तो उत्कृष्ट कविता सङ्ग्रह प्रकाशन गर्ने अर्का अद्भुत बालप्रतिभा समर्पण न्यौपानेको व्यवस्थित सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एम्बिसन एकेडेमी, बानेश्वरका बालप्रतिभाहरू प्रविज्ञा नेपाल, चक्षु भट्टराई, आश्रुती दाहाल, प्रनुज्ञा नेपाल र आर्णवी घिमिरेले कविता गायनबाट अतिथिहरूलाई स्वागत गरेका थिए ।