काठमाडौं-नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ।
पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा मापदण्ड अनुसार काम नगरेको भन्दै कार्यालयमा ताला लगाइएको हो। पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार कार्यालयमा ताला लगाएको छ।
शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भीर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालले विज्ञप्ति निकाली प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बहाना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको जनाएको छ।
‘राजनीतिक पूर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटक पटक आग्रह गर्दा पनि एकपक्षीय रूपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गर्न बाध्य भएका छौँ’, प्रेस चौतारी नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
प्रदेश समितिले सदस्यता नवीकरणमा राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो । सुद्धिकरणको नाममा पूर्वाग्रही हिसाबले चौतारीका सदस्यको सदस्यता खारेज गरिएको उहाँले बताउनुभयो ।
जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेकोमा महासंघको प्रदेश समिति थप पूर्वाग्रही भएको उहाँले बताउनुभयो । प्रदेश समितिले गरेको निर्णयबाट कुनै पनि संगठन र पत्रकार खुसी नभएको उहाँको भनाइ छ ।






प्रतिक्रिया