अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदल बैठक: प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

एमाले कार्यदल बैठक: प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई


काठमाडौं– नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ। बादल सुझाव संकलन कार्यदलको संयोजक र पोखरेल सदस्य सचिव हुन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सुझाव संकलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गर्नेछ। प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेश गरिने तयारी गरिएको उनले जानकारी दिए।

निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले देशव्यापी रूपमा नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष छलफल गर्दै सुझाव संकलन गरेको थियो। कार्यदलका अनुसार अभियानमा प्राप्त सुझावहरू पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैली सुधार र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा केन्द्रित रहेका छन्।

बैठकले सुझाव संकलन कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रदेश, जिल्ला तथा सम्बन्धित पार्टी कमिटीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै अभियानमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

कार्यदलले देशभरबाट प्राप्त सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेको छ। प्रतिवेदन अन्तिम भएपछि त्यसका आधारमा पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाइने एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा २०८३ जेठ १० गते आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरेको थियो। उक्त बैठकले निर्वाचनको परिणाम र पार्टीको साङ्गठनिक अवस्थाको मिहीन मूल्याङ्कन गर्दै ठोस सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी कार्यदललाई सुम्पेको थियाे।

थापा नेतृत्वको कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा सातै प्रदेशका इन्चार्ज सदस्य छन्। 

कार्यदलको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुझाव संकलनकै क्रममा सुर्खेतबाट पक्राउ गरेकोमा आपत्ति जनाएको छ।

Skip This