जीवनको सौन्दर्य केवल प्राप्तिमा मात्र होइन, स्वीकारमा पनि हुन्छ। जन्म र मृत्यु, आगमन र प्रस्थान, भेटिनु र छुटिनु, यी प्रकृतिका अनवरत नियम हुन्। समय कसैका लागि रोकिँदैन, तर समयले दिएका अनुभूति, सम्बन्ध र सम्झनाहरू भने जीवनभर साथ रहिरहन्छन्। मानिस जीवनभर अनेकौं यात्राहरू गर्छ, तर केही यात्राहरू यस्ता हुन्छन्, जसले उसको व्यक्तित्व, सोच र जीवनदर्शनलाई नै नयाँ आकार दिन्छन्। शिक्षण पेशा मेरो जीवनको त्यस्तै एउटा यात्रा थियो।
विद्यालय छोडेँ, सम्झनाहरू होइन
आज औपचारिक रूपमा विद्यालयले बिदाइ गर्दै गर्दा मेरो मनमा कुनै रिक्तता छैन, बरु अपार कृतज्ञता छ। किनभने म केवल एउटा जागिरबाट बिदा भइरहेको थिइन, म आफ्नो जीवनका सबैभन्दा सुन्दर, अर्थपूर्ण र सिर्जनात्मक वर्षहरूको एउटा अध्याय बन्द गर्दै गरेको अनुभूति थियो ममा। तर यो अध्यायको अन्त्यले मेरो मनका पानाहरू बन्द भएका छैनन्। ती पानाहरूमा लेखिएका अनुभव, विद्यार्थीका मुस्कान, सहकर्मीहरूको साथ, अभिभावकको विश्वास र विद्यालयको आत्मीय वातावरण सधैं मेरा जीवनका अमूल्य सम्पत्ति बनिरहने छन्।
मलाई आज पनि सम्झना छ, पहिलो पटक शिक्षकका रूपमा विद्यालयको गेटभित्र प्रवेश गरेको त्यो बिहान। मेरो मनमा उत्साह थियो, तर त्योभन्दा बढी जिम्मेवारीको अनुभूति थियो। हातमा पाठ योजना थियो। पहिलो पटक कक्षाकोठामा प्रवेश गर्दा दर्जनौं उत्सुक आँखाहरूले मलाई हेरिरहेका थिए। विद्यार्थीहरूका आँखामा ज्ञानको खोजी थियो, विश्वास थियो र भविष्यको आकाङ्क्षा थियो। त्यो दिन मैले उनीहरूलाई पाठ पढाएकी थिएँ, तर वास्तवमा शिक्षक बन्ने पहिलो पाठ मैले स्वयं त्यही दिन पढेकी थिएँ।

शिक्षण पेशा केवल रोजगारी होइन, यो समाज निर्माणको मौन अभियान हो।एउटा शिक्षकले ब्ल्याकबोर्डमा लेखेका अक्षरहरू समयसँगै मेटिन्छन्, तर ती अक्षरहरूले विद्यार्थीको जीवनमा निर्माण गरेका मूल्यहरू कहिल्यै मेटिँदैनन्। यही विश्वासका साथ मैले आफ्नो जीवनका अमूल्य वर्षहरू विद्यालयलाई समर्पित गरेकी थिएँ। समयसँगै मैले बुझ्दै गएँ, विद्यालय भनेको केवल भवन होइन, यो एउटा जीवित परिवार हो। यहाँ प्रत्येक कक्षाकोठाको आफ्नै कथा हुन्छ। प्रत्येक बेन्चले आफ्नै सम्झना बोकेको हुन्छ। प्रत्येक घण्टीले नयाँ सुरुवातको सङ्केत गर्छ र प्रत्येक विद्यार्थी एउटा सम्भावनाको बीउ हुन्छ। शिक्षकको काम त्यो सम्भावनालाई चिन्नु, हुर्काउनु र उज्यालोतर्फ डोर्याउनु हो।
शिक्षण यात्रामा मैले धेरै विद्यार्थीहरू देखेँ। कोही अत्यन्त प्रतिभाशाली थिए, कोही साधारण देखिन्थे। तर समयले मलाई एउटा महत्त्वपूर्ण सत्य सिकायो। प्रतिभाभन्दा ठूलो कुरा मेहनत हो र मेहनतभन्दा ठूलो कुरा चरित्र हो। आज जीवनका विभिन्न क्षेत्रमा सफल भएका मेरा विद्यार्थीहरूको समाचार सुन्दा मेरो मन गर्वले भरिन्छ। उनीहरूले प्राप्त गरेका पद, प्रतिष्ठा वा उपलब्धिभन्दा बढी खुसी उनीहरू असल नागरिक बनेको देख्दा लाग्छ। किनभने शिक्षकको वास्तविक सफलताको मापन प्रमाणपत्रले होइन, उसका विद्यार्थीहरूको जीवनले गर्छ।
मलाई मानिसहरू सोध्ने गर्छन्, शिक्षण पेशाले तपाईंलाई के दियो ? म आज ढुक्क भएर भन्न सक्छु, यस पेशाले मलाई केवल जीविकोपार्जनको आधार दिएन, यसले मलाई जीवन बुझ्ने दृष्टि दियो। धैर्य सिकायो। नम्रता सिकाय। निरन्तर सिकिरहने संस्कार सिकायो। विद्यार्थीका प्रश्नहरूले मलाई पनि प्रत्येक दिन नयाँ विद्यार्थी बनाइरहे। उनीहरूले मलाई किताबभन्दा ठूलो विद्यालय जीवन नै हो भन्ने अनुभूति गराए।

कुनै-कुनै दिन कक्षाकोठामा सामान्य लाग्ने एउटा प्रश्नले मलाई रातभर पुस्तक पल्टाउन बाध्य बनायो। त्यसपछि महसुस भयो, शिक्षक हुनु भनेको सबै कुरा जान्नु होइन, सिक्न कहिल्यै नरोकिनु हो। वास्तवमा शिक्षकले विद्यार्थीलाई मात्र पढाउँदैन, विद्यार्थीहरूले पनि शिक्षकलाई जीवन पढाइरहेका हुन्छन्। त्यसैले आज म आफ्ना प्रत्येक विद्यार्थीप्रति कृतज्ञ छु। शिक्षण जीवनका वर्षहरूमा सहकर्मीहरू मेरो अर्को परिवार बने। विद्यालयका चुनौतीहरू हामीले सँगै सामना गर्यौं। कहिले हाँस्यौं, कहिले चिन्तित भयौं, कहिले असहमत पनि भयौं। तर अन्ततः हाम्रो साझा उद्देश्य एउटै थियो, विद्यार्थीको उज्ज्वल भविष्य। यही साझा उद्देश्यले हामीलाई एउटै परिवार बनायो। विद्यालयको प्रगति कुनै एक व्यक्तिको योगदानबाट सम्भव हुँदैन, यो सामूहिक समर्पणको परिणाम हो भन्ने सत्य मैले यहीँ सिकेँ। विद्यालय प्रशासनले ममाथि गरेको विश्वास मेरो जीवनको ठूलो पुँजी बन्यो। त्यो विश्वासले मलाई नयाँ जिम्मेवारी स्विकार्ने साहस दियो। कहिलेकाहीँ मानिस आफूमाथि भन्दा अरूले गरेको विश्वासबाट बढी बलियो बन्छ। मैले पनि त्यही अनुभव गरेँ।
शिक्षणदेखि अनुसन्धानसम्मको यात्रा
शिक्षकको जीवन बाहिरबाट हेर्दा निकै सरल देखिन्छ। बिहान विद्यालय जाने, कक्षामा पढाउने, बेलुका घर फर्किने। तर एउटा समर्पित शिक्षकको वास्तविक जीवन त्यसभन्दा धेरै गहिरो हुन्छ। कक्षाकोठामा बितेका केही घण्टाभित्र मात्र शिक्षकको भूमिका सीमित हुँदैन। उसले विद्यार्थीका सपनाहरूलाई दिशा दिन्छ, उनीहरूको आत्मविश्वास निर्माण गर्छ, कहिलेकाहीँ अभिभावकको भूमिका पनि निर्वाह गर्छ। शिक्षकले केवल पाठ्यपुस्तक पढाउँदैन, उसले जीवन पढाउँछ। मेरो शिक्षण यात्राले पनि मलाई यही सत्य सिकायो।
मैले विद्यार्थीलाई पाठ सिकाउँदा उनीहरूको अनुहारमा देखिने जिज्ञासा, उत्सुकता र भविष्यप्रतिको विश्वास नै मेरो ऊर्जाको स्रोत बन्थ्यो। एउटा विद्यार्थीले म्याडम, अब मलाई यो विषय स्पष्ट भयो भनेर मुस्कुराउँदा त्यो अनुभूति कुनै पुरस्कार वा पदकभन्दा ठूलो लाग्थ्यो। शिक्षकको वास्तविक तलब त यिनै मुस्कानहरू हुन्। समयसँगै शिक्षण मेरो पेशा मात्र रहेन, मेरो जीवनदर्शन बन्यो। मैले महसुस गरेँ, ज्ञानको संसार असीमित छ। जसले सिक्न छोड्छ, उसले पढाउन पनि छोड्छ। यही सोचले मलाई निरन्तर अध्ययन र अनुसन्धानतर्फ डोर्यायो।

विद्यावारिधिको यात्रा सुरु गर्दा धेरैले सोध्नुभएको थियो, अब यो उमेरमा किन यति दुःख गर्नु ? तर मेरो लागि पीएचडी कुनै पद वा उपाधि प्राप्त गर्ने माध्यम थिएन। त्यो त ज्ञानको खोजी थियो, आफैँलाई अझ राम्रो शिक्षक बनाउने प्रयास थियो। शिक्षक भएर अनुसन्धान नगर्ने हो भने नयाँ पुस्तालाई नयाँ सोच कसरी दिन सकिन्छ भन्ने प्रश्नले मलाई निरन्तर घच्घचाइरह्यो। त्यो यात्रा सजिलो थिएन। परिवारको उत्तरदायित्व, सामाजिक दायित्व र अनुसन्धान, यी सबैलाई सँगसँगै अघि बढाउनु आफैँमा ठूलो चुनौती थियो। धेरै रातहरू पुस्तक, अनुसन्धान सामग्री र कम्प्युटरसँग बिते। कहिलेकाहीँ निद्रा भन्दा अध्ययनलाई प्राथमिकता दिनुपर्यो। यो समयमा कतिपय पारिवारिक उत्सवहरू छुटे। आफ्ना व्यक्तिगत चाहनाहरूलाई पछि सार्नुपर्यो। तर प्रत्येक कठिनाइसँगै एउटा नयाँ ऊर्जा पनि जन्मिइरह्यो। किनभने मलाई थाहा थियो, ज्ञानको यात्रामा छोटो बाटो हुँदैन। यस कठिन यात्रामा म कहिल्यै एक्लो थिइनँ। विद्यालयले मलाई विश्वास गर्यो। अनुसन्धानका लागि आवश्यक वातावरण दियो। मेरा गुरुहरूले मार्गदर्शन गर्नुभयो। त्यसैले विद्यावारिधिको प्रमाणपत्रमा मेरो नाम लेखिएको भए पनि त्यसको प्रत्येक पानामा धेरै व्यक्तिहरूको योगदान अङ्कित छ।
आज विद्यालयले मेरो पीएचडीलाई आफ्नै उपलब्धिका रूपमा स्वीकार गरेर गरेको सम्मानले मलाई एउटा गहिरो अनुभूति गराएको छ। कुनै पनि व्यक्तिको उपलब्धि वास्तवमा उसले बाँचेको समुदायको उपलब्धि पनि हुन्छ। यदि संस्थाले आफ्ना सदस्यको सफलतामा गर्व गर्न सक्दैन भने त्यो संस्था कहिल्यै महान् बन्न सक्दैन। यस विद्यालयले भने मेरो सफलतालाई आफ्नो सफलताका रूपमा ग्रहण गरेर शिक्षा संस्थाको वास्तविक संस्कृति कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया होइन। शिक्षा भनेको सोच्ने कला हो। प्रश्न गर्ने साहस हो। सत्य खोज्ने संस्कार हो। अनुसन्धानले मलाई यही कुरा सिकायो, हरेक उत्तरभित्र नयाँ प्रश्न लुकेको हुन्छ। त्यसैले सिकाइको अन्त्य कहिल्यै हुँदैन। आजको संसार तीव्र रूपमा बदलिरहेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाले शिक्षाको स्वरूप नै परिवर्तन गरिरहेको छ। यस्तो समयमा शिक्षकको भूमिका अझ महत्त्वपूर्ण बनेको छ। सूचना अब पुस्तकमा मात्र सीमित छैन, मोबाइलको एउटा स्पर्शमै उपलब्ध छ। तर सूचना र ज्ञान एउटै कुरा होइनन्। ज्ञान भनेको सही र गलत छुट्याउने क्षमता हो, नैतिक निर्णय गर्ने विवेक हो, मानवीय संवेदनालाई जोगाउने शक्ति हो। यी कुरा कुनै प्रविधिले होइन, एउटा असल शिक्षकले सिकाउँछ।
म सधैं विश्वास गर्छु, शिक्षकले विद्यार्थीलाई उत्तर मात्र दिनु हुँदैन, उसलाई प्रश्न गर्न सिकाउनुपर्छ। किनकि प्रश्न गर्न सिकेको विद्यार्थीले जीवनभर सिक्न सक्छ। उत्तर कण्ठ गर्ने विद्यार्थी परीक्षा पास गर्न सक्छ, तर प्रश्न गर्ने विद्यार्थीले समाज परिवर्तन गर्न सक्छ। शिक्षकका रूपमा मैले कहिल्यै आफूलाई सबै कुरा जान्ने व्यक्तिका रूपमा प्रस्तुत गरिनँ। बरु प्रत्येक दिन नयाँ कुरा सिक्ने विद्यार्थीका रूपमा नै विद्यालय पुगेँ। यही कारणले आज पनि म सिकाइको यात्रामा छु। विद्यालयबाट अवकाश लिए पनि अध्ययन, अनुसन्धान र लेखनबाट अवकाश लिने मेरो सोच छैन। बरु समयले मलाई अझ बढी पढ्ने, लेख्ने र समाजसँग आफ्ना अनुभवहरू बाँड्ने अवसर दिएको छ।
शिक्षकको वास्तविक जीवन सेवा निवृत्तिपछि समाप्त हुँदैन। वास्तवमा त्यहीँबाट उसको अर्को यात्रा सुरु हुन्छ। मेरो जीवनमा अव कक्षाकोठाको सीमा फराकिलो हुन्छ। समाज नै मेरो नयाँ विद्यालय बन्छ। अनुभव नै उसका नयाँ पाठ्यपुस्तक बन्छन्। कलम नै उसको नयाँ कक्षाकोठा बन्छ। यही विश्वासका साथ म आफ्नो आगामी यात्रातर्फ अघि बढ्दै छु।
बिदाइ होइन, अर्को यात्राको आरम्भ
समयले मानिसलाई धेरै कुरा दिन्छ, तर केही कुरा उसले बिस्तारै खोस्दै पनि जान्छ। उमेर बढ्दै जाँदा हामीसँग उपलब्धिहरू थपिन्छन्, तर ती उपलब्धिहरूभन्दा हामी सम्बन्धहरूको मूल्य बुझ्न थाल्छौँ। शिक्षक जीवनको अन्त्यमा आएर मैले एउटा सत्य अझ स्पष्टसँग महसुस गरेको छु। मानिसको वास्तविक सम्पत्ति उसले कमाएको धन होइन, कमाएको विश्वास हो। उसले पाएको पद होइन, उसले छोएका मन हो।
आज विद्यालयबाट औपचारिक रूपमा बिदा हुँदै गर्दा मेरो मनमा एउटा मात्र प्रश्न बारम्बार उठिरहेको छ, मैले कति वर्ष अध्यापन गरेँ भन्ने होइन, ती वर्षहरूमा मैले कति जीवनसँग सम्बन्ध जोड्न सकेँ ? यदि कुनै विद्यार्थीले आज पनि मलाई सम्झेर मेरो शिक्षक भन्न पाउँदा गर्व गर्छ भने, त्यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। यदि कुनै विद्यार्थीले जीवनको कुनै कठिन मोडमा मैले कहिल्यै भनेको एउटा वाक्य सम्झेर हिम्मत जुटाउन सक्छ भने त्यो नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो। शिक्षकको प्रभाव परीक्षाको नतिजामा मात्र देखिँदैन, त्यो त वर्षौँपछि विद्यार्थीको चरित्र, निर्णय र जीवनशैलीमा देखिन्छ।

मेरा विद्यार्थी विद्यार्थी मात्र होइनन्, मेरो जीवनका सहयात्री पनि हुन। किनकी विद्यार्थीका प्रश्नहरूले मलाई विनम्र हुन सिकायो। उनीहरुका सपनाहरूले मलाई आफ्ना सपनाहरू जीवित राख्न सिकायो। उनीहरुका सफलताले मलाई आफू सफल भएको अनुभूति गरायो।
म मेरा विद्यार्थीलाई एउटा कुरा सधैँ सम्झाइरहन चाहन्छु, जीवनमा ठूलो मानिस बन्नु भन्दा पहिले असल मानिस बन्नुहोस्। ज्ञानले अवसर दिन्छ, तर चरित्रले सम्मान दिलाउँछ। प्रतिभाले अगाडि पुर्याउँछ, तर इमानदारीले तपाईँलाई टिकाउँछ। म मेरा विद्यार्थीलाई अझै पनि भन्न चाहन्छु, प्रतिस्पर्धा गर्नुहोस्, तर ईर्ष्या नगर्नुहोस्। सफल हुनुहोस्, तर अहङ्कारी नबन्नुहोस्। नेतृत्व गर्नुहोस्, तर अरूलाई सम्मान गर्न नबिर्सनुहोस्। जीवनमा कुनै दिन धेरै माथि पुग्नुभयो भने पनि आफ्नो शिक्षक र कक्षाकोठालाई सम्झिनुहोस्। किनभने रूख जति अग्लो भए पनि उसको शक्ति जरामै हुन्छ।
आजको संसारमा ज्ञानभन्दा सूचना धेरै छन्। मानिसहरूमा विवेक कम हुँदै गएको छ। प्रविधि विकसित हुँदैछ, तर मानवीय सम्बन्धहरू कमजोर बन्दै गएका छन्। यस्तो समयमा तपाईँहरू केवल सफल पेशाकर्मी मात्र होइन, संवेदनशील नागरिक बन्नुहोस्। तपाईँहरूले समाजबाट के लिनुभयो भन्दा पनि समाजलाई के दिनुभयो भन्ने प्रश्न नै जीवनको अन्तिम मूल्याङ्कन हुनेछ, म आज मेरो विद्यार्थीहरूलाई यही भन्न चाहन्छु।
अभिभावकहरुले आफ्ना जीवनका सबैभन्दा प्रिय सम्पत्ति, आफ्ना सन्तान हामी शिक्षकहरूलाई विश्वासका साथ सुम्पनुभयो। त्यो विश्वास कुनै नियुक्ति पत्रभन्दा ठूलो जिम्मेवारी थियो। शिक्षक र अभिभावकबीचको सम्बन्ध औपचारिक मात्र हुँदैन, त्यो त भविष्य निर्माणको साझेदारी हुन्छ। तपाईँहरूले विद्यालयमाथि गर्नुभएको विश्वासले नै हामीलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको थियो।
सहकर्मीहरूसँग बिताएका वर्षहरू सम्झँदा विद्यालय केवल कार्यस्थल थिएन भन्ने महसुस हुन्छ। हामीले सँगै योजना बनायौँ, बहस गर्यौँ, कहिलेकाहीँ मतभेद पनि भए, तर हाम्रो लक्ष्य एउटै थियो, विद्यालयको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्य। यदि मैले तपाईँहरूको जीवनमा कुनै सकारात्मक योगदान गर्न सकेको छु भने, त्यसको सम्पूर्ण श्रेय हाम्रो सामूहिक सहकार्यलाई जान्छ।

विद्यालय प्रशासनप्रति पनि मेरो गहिरो सम्मान छ। एउटा संस्थाले आफ्ना शिक्षकलाई विश्वास गर्दा शिक्षकको क्षमता धेरै गुणा बढ्छ। मलाई त्यो विश्वास सधैँ प्राप्त भयो। यही विश्वासले मलाई अनुसन्धान गर्न, नयाँ कुरा सिक्न र आफूलाई निरन्तर विकसित गर्न प्रेरित गर्नेछ। आज विद्यालयले मेरो विद्यावारिधिको उपलब्धिलाई आफ्नै गौरव मानेर गरेको सम्मानले मलाई अत्यन्त भावुक बनाएको छ। यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धिको उत्सव होइन, यो शिक्षा, अनुसन्धान र निरन्तर सिकाइप्रतिको सम्मान हो। यसले मलाई विश्राम लिन होइन, अझ बढी अध्ययन गर्न, अझ धेरै लेख्न, अनुसन्धान गर्न र समाजलाई ज्ञानमार्फत योगदान दिन प्रेरित गरेको छ।
म दृढतापूर्वक विश्वास गर्छु, शिक्षकको वास्तविक उपाधि उसको प्रमाणपत्र होइन, उसका विद्यार्थीहरूको सफलता हो। पीएचडी एउटा शैक्षिक उपलब्धि हुन सक्छ, तर मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको मेरा विद्यार्थीहरू जीवनमा सफल, जिम्मेवार र असल नागरिक बनेका छन् भन्ने अनुभूति हो। कन्फुसियसले भन्नुभएको छ, शिक्षा एउटा पुस्तामा सीमित हुने सम्पत्ति होइन; यो पुस्तौँसम्म उज्यालो फैलाउने दीप हो। यस भनाइको गहिरो अर्थ मैले आफ्नो सम्पूर्ण शिक्षण यात्रामा अनुभव गरेको छु। एउटा शिक्षकले आज रोपेको ज्ञानको बीउ भोलि एउटा परिवारमा, एउटा समाजमा र एउटा राष्ट्रमा फल्छ।
डा. सर्वपल्ली राधाकृष्णनले भन्नुभएको थियो, असल शिक्षकले उत्तर मात्र दिँदैन, सोच्न सिकाउँछ। मैले पनि मेरो शिक्षक जीवनमा यही नियम लागू गरेँ। मेरा विद्यार्थीहरूले उत्तर कण्ठ गर्ने होइन, प्रश्न गर्ने सिकून् भन्ने मेरो चाहना थियो। किनकि प्रश्न गर्न सिकेको समाज नै सृजनशील र लोकतान्त्रिक समाज बन्छ। विद्यालयबाट बाहिरिँदै गर्दा म विद्यालयलाई छोडेर जाँदै छैन। मेरो शरीर विद्यालयको गेटबाहिर हुनेछ, तर मेरो मनको एउटा ठूलो अंश यही प्राङ्गणमा रहनेछ। बिहानको घण्टीको आवाज, प्रार्थनामा उभिएका विद्यार्थीहरू, कक्षाकोठाको ब्ल्याकबोर्ड, स्टाफरूमका छलफल, वार्षिकोत्सवका तयारी, परीक्षा अघि विद्यार्थीका अनुहारमा देखिने चिन्ता, नतिजापछि देखिने खुसी, यी सबै दृश्यहरू अब मेरो जीवनको स्थायी स्मृति बनिसकेका छन्।
अब मेरो परिचय विद्यालयको शिक्षकबाट विद्यालयको पूर्व शिक्षकमा बदलिएको छ। तर विद्यालयप्रतिको मेरो माया, सम्मान र अपनत्व कहिले बदलिने छैन। अवकाशले मेरो जागिर समाप्त गरेको छ, मेरो दायित्व होइन। अब मेरो कक्षाकोठा अझ फराकिलो हुनेछ। समाज नै मेरो नयाँ विद्यालय हुनेछ। अनुसन्धान, लेखन र ज्ञान बाँड्ने काम नै मेरो आगामी यात्राको आधार हुनेछ। म जहाँ रहे पनि, शिक्षा, अनुसन्धान र समाजप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै त्याग्ने छैन। अन्त्यमा, मेरो शिक्षक जीवनले मलाई सिकाएको एउटा सरल तर गहिरो सत्य साझा गर्न चाहन्छु, शिक्षक विद्यालयबाट अवकाश लिन सक्छ, तर शिक्षणबाट कहिल्यै अवकाश लिँदैन।






प्रतिक्रिया