अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार ‘उम्लिएको दूध’ जस्तै, भुईँमा खुट्टा छैन: अध्यक्ष ओली

वर्तमान सरकार ‘उम्लिएको दूध’ जस्तै, भुईँमा खुट्टा छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढिरहेको आरोप लगाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार जनताको समस्याप्रति संवेदनशील बन्न नसकेको आराेप लगाए।

अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएका घटना, प्रभावित बालबालिकाको अवस्था तथा विस्थापित नागरिकका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको उल्लेख गरे।

‘सरकारको १०० दिनको मूल्याङ्कन गर्न धेरै टाढा जानुपर्दैन। सुकुम्बासी बस्तीमा डोजर लगाइएका समाचार, रुवाबासी भएका बालबालिकाका दृश्यहरू सबैले देखिरहेका छन्,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले वर्तमान अवस्थामा सरकारप्रति जनतामा खुसी हुने कुनै आधार नरहेको दाबी गर्दै अहिलेको उत्साह दीर्घकालीन नहुने जिकिर गरे। सरकारको अवस्थालाई ‘उम्लिएको दूध’सँग तुलना गर्दै उनले बाहिरबाट ठूलो देखिए पनि वास्तविक रूपमा बलियो आधार नभएको टिप्पणी गरे।

‘दूध एक पाथी अट्ने भाँडोमा तताउँदा उम्लिएर भरिएजस्तो देखिन्छ, बाहिरसम्म पोखिन्छ पनि। तर त्यो साँच्चै भरिएको हुँदैन, उम्लिएको मात्रै हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार पनि त्यस्तै हो। यसको खुट्टा भुइँमा छैन, आधार कमजोर छ। बाहिरबाट ठूलो देखिए पनि स्थिरता छैन।’

अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीको आलोचना गर्दा समेत जेल जानुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै व्यंग्यात्मक रूपमा उनीहरूका बारेमा बोल्दा सावधानी अपनाउनुपर्ने टिप्पणी गरे।

सरकारको सय दिनको मूल्यांकन गर्ने जिम्मा जनता र सञ्चारमाध्यमकै रहेको उल्लेख गर्दै उनले एमाले सकिएको भन्ने टिप्पणीको पनि खण्डन गरे।

अध्यक्ष ओलीले सरकारको कार्यशैली सुधार नगरे जनतामा थप निराशा बढ्ने चेतावनी समेत दिए।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित छ जना केन्द्रीय सदस्यलाई एमालेमा प्रवेश गराएका थिए।

Skip This