काठमाडौँ-नेकपा एमालेले २०८२ भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं १७७ अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ।
बिहीबार हरिहर भवन, पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर एमाले नेता महेश बर्तौलाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली का तर्फबाट निवेदन दर्ता गराएका हुन्।
निवेदनमा आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण तथा असंवैधानिक रहेको दाबी गरिएको छ। सो निर्णय पुनरावलोकन गरी सच्याउन आयोगसँग माग गरिएको बर्तौलाले जानकारी दिएका छन्।
त्यस्तै, यसअघि आयोगसमक्ष माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपिहरू पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै थप विवरणसमेत माग गरिएको छ। निवेदनमार्फत उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ।
साथै, उक्त प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको, त्यसका आधार र कारणहरू के थिए भन्ने विषयका सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको छ।
यदि आयोगबाट यस विषयमा थप छानबिन, अनुसन्धान वा अध्ययन गरिएको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन निवेदनमा अनुरोध गरिएको बर्तौलाले बताएका छन्।
पूर्णपाठ






प्रतिक्रिया