अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी क्षेत्रमा भारी वर्षा, बाढीबाट सतर्क रहन महाशाखाको आग्रह 

यी क्षेत्रमा भारी वर्षा, बाढीबाट सतर्क रहन महाशाखाको आग्रह 


काठमाडौँ–देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । जसले गर्दा साना खोला तथा नदीमा बढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कैलालीको टिकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले स–साना नदीमा बहाव बढ्नसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै लमजुङको खुदीबजार र आसपासको स्थानमा पनि भारी वर्षा भएको छ । खुदीखोलालागायत लमजुङ तथा आसपासका साना नदीमा तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ । बेशिसहर–चामे सडकखण्डमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ ।  

दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुङगामा  जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्ने क्रममा रहेकाले दूधकोसीको सुनकोशी दोभानसम्मको नदीतटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाको भनाइ छ । 

कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह  बढ्दो क्रममा रहेको छ । कमला बेलसोत उदयपुरमा पनि जलसतह बढिरहेको छ ।

सिन्धुली, उदयपुर, धनुषा र सिराहाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा रहनेले बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा, इलाम तथा आसपास केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । स–साना नदीमा जलसतह बढ्ने, केहीमा आकस्मिक बाढीको जोखिम तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बिहान वर्षा भइरहेको छ ।